arrow

सुदूरपश्चिममा ४१ हजारभन्दा बढी मत बदर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
election-2082-new.jpg

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ४१ हजार ६२४ मत बदर भएको छ। सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार १६ वटै निर्वाचन क्षेत्रमा गरी कुल खसेको मतको ४.७१ प्रतिशत मत बदर भएको हो।

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी दिलीप भाटका अनुसार १७ लाख २९ हजार ४५० मतदाता रहेको यस प्रदेशमा कुल आठ लाख ८४ हजार १७७ मत खसेको थियो, जुन कुल मतदाताको ५१.१२ प्रतिशत हो। खसेका मतमध्ये ९५.२९ प्रतिशत सदर हुँदा बाँकी ४.७१ प्रतिशत मत खेर गएको छ।

कैलालीका पाँच निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा ३,२५८, क्षेत्र नं २ मा २,६४६, क्षेत्र नं ३ मा २,९१३, क्षेत्र नं ४ मा २,९०७ र क्षेत्र नं ५ मा २,८०७ मत बदर भएको छ। कञ्चनपुरका तीन निर्वाचन क्षेत्रहरूमा क्षेत्र नं १ मा ३,२३४, क्षेत्र नं २ मा ३,४३० र क्षेत्र नं ३ मा ३,३९९ मत बदर भएको छ।

त्यसैगरी, पहाडी जिल्लाहरूमध्ये बैतडीमा सबैभन्दा धेरै ४,१२६ मत बदर भएको छ। अछाम क्षेत्र नं १ मा १,११९ र क्षेत्र नं २ मा १,५३१, बाजुरामा १,२००, डोटीमा २,४६९, दार्चुलामा १,६०८ र डडेल्धुरामा २,०२५ मत बदर भएको कार्यालयले जनाएको छ।

यसपटकको निर्वाचनमा सुदूरपश्चिममा नयाँ राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हाबी देखिएको छ। प्रदेशका १६ सिटमध्ये १० सिटमा रास्वपा विजयी भएको छ। रास्वपाले कैलालीका पाँचै वटा क्षेत्र, कञ्चनपुरका तीनै वटा क्षेत्र तथा बैतडी र डडेल्धुरामा जित हासिल गरेको छ।

अन्य सिटहरूमध्ये नेपाली कांग्रेसले डोटी, अछाम–१ र बाजुरा गरी ३ सिट जितेको छ भने नेकपा (एमाले) ले बझाङ, दार्चुला र अछाम–२ गरी ३ सिटमा चित्त बुझाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ