कोशी प्रदेशमा राजनीतिक उथलपुथल: रास्वपा पहिलो र श्रम संस्कृति पार्टी दोस्रो ठूलो शक्ति
किन खुम्चिए कांग्रेस–एमाले ? कोशी प्रदेशको नयाँ राजनीतिक चित्र यस्तो छ
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
935
Shares
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम समानुपातिक मत परिणामले कोशी प्रदेशको परम्परागत राजनीतिक शक्ति सन्तुलनलाई पूर्ण रूपमा बदलिदिएको छ। निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार प्रदेशमा नयाँ दलहरूको उदय भएको छ भने पुराना र स्थापित दलहरू पछि परेका छन्।
समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ८ लाख ५३ हजार १८३ मतसहित कोशी प्रदेशको पहिलो दल बनेको छ। प्रत्यक्षतर्फ पनि १७ सिट जितेर प्रदेशको सबैभन्दा ठुलो शक्ति बनेको रास्वपाले समानुपातिकमा समेत आफ्नो स्पष्ट अग्रता कायम राखेको हो।
त्यसैगरी, सुनसरी क्षेत्र नम्बर १ बाट सुरु भएको हर्कराज राई साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ४९ मत प्राप्त गर्दै दोस्रो स्थान सुरक्षित गरेको छ। प्रत्यक्षतर्फ तीन सिट जितेको यो पार्टीले कांग्रेस र एमाले जस्ता पुराना दलहरूलाई मत सङ्ख्यामा उछिनेर सबैलाई अचम्मित पारेको छ।
लामो समय सत्ता र शक्तिमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले क्रमशः तेस्रो र चौथो स्थानमा खुम्चिएका छन्। प्रत्यक्षतर्फ चार सिट जितेको नेपाली कांग्रेसले २ लाख ९० हजार ५६२ मत प्राप्त गर्दा समान सिट जितेको नेकपा एमाले २ लाख ८८ हजार १८६ मतमा सीमित भएको छ। प्रत्यक्षतर्फ कुनै पनि सिट जित्न नसकेको नेपाल कम्युनिष्ट पार्टी ९७ हजार ६७९ मतसहित पाँचौँ स्थानमा रहेको छ।
राजसंस्था र हिन्दु राज्यको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ६२ हजार ८९९ मतसहित छैटौँ स्थानमा छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको अवस्था निकै कमजोर देखिएको छ; यो दल १३ हजार ८४० मतका साथ आठौँ स्थानमा पुगेको छ। निर्वाचन आयोगका अनुसार कोशी प्रदेशमा सबैभन्दा कम मत पाउने दल त्रिमूल नेपाल हो, जसले मात्र १०५ मत प्राप्त गरेको छ।
यो चुनावी परिणामले कोशी प्रदेशका जनताले नयाँ र वैकल्पिक नेतृत्वप्रति उच्च विश्वास देखाएको स्पष्ट पारेको छ।