काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको आज एक विशेष कार्यक्रमका बीच बिदाइ गरिँदै छ।
४० कार्यदिनको निश्चित सेवा अवधि पूरा भएसँगै उनीहरूलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र प्रदान गरेर र भविष्यमा देशलाई आवश्यक परेको समयमा पुनः सहयोग गर्ने वाचासहित सम्मानपूर्वक बिदाइ गर्न लागिएको हो।
यस वर्षको निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत १५ हजार ११० जना गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी बलले पनि आफ्नो मातहतमा खटिएका सुरक्षाकर्मीहरूको बिदाइका लागि आजै छुट्टै कार्यक्रमको आयोजना गरेको छ।
निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका यी सुरक्षाकर्मीहरूको योगदानको कदर गर्दै सरकारले उनीहरूलाई स–सम्मान कार्यक्षेत्रबाट बिदा गर्न लागेको हो।