आवधिक रुपमा ०८४ सालमा हुनुपर्ने प्रतिनिधि सभाको निर्वाचन विशेष परिस्थितिका कारण गत २१ फागुनमा सम्पन्न भई परिणामसमेत आइसकेको छ । निर्वाचनको परिणामअनुसार नयाँ वा वैकल्पिक भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लाई मतदाताले अनपेक्षित करिब दुईतिहाई मतको गरुङ्गो भारी बोकाइदिएका छन् । पुरानालाई जुन तहको दण्ड दिनुपर्ने थियो, त्यो दिएका छन् । नेपालको राजनीतिमा ठूला र पुराना नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा, राप्रपा र मधेसवादी दलहरू संसदमा संख्यात्मक दृष्टिले बढारिए सरह नै भएका छन् ।
पुराना दलहरूलाई धेरै वर्ष पहिलेदेखि नै नसच्चिए सकिन्छ्न् भनिएको थियो, वास्तवमै संसदमा अहिलेको उपस्थितिको संख्यालाई हेर्दा सकिए सरह नै भएका छन् । पुराना दलहरूले जिम्मेवारविहीन भएर अतिका कारण आज परिणाम भोगेका हुन् । पुराना दलहरूले अराजनीतिक रूपमा गर्नसक्ने कुकृत्य सबै गरे । नेपालको राज्यसत्तालाई वर्षैाँसम्म प्रयोगशाला नै बनाए । अन्तत:जनताले अब तत्काललाई उठ्न नै नसक्ने गरी दिनुपर्ने चरम दण्ड दिएका छन् । यद्यपि निरपेक्ष रुपमै पुराना दलहरूले नेपाली राजनीतिक इतिहासमा कुनै किसिमको योगदान नै दिएनन् भन्न खोजेको भने होइन ।
अहिलेको निर्वाचनको नतिजालाई हेर्दा भदौ २३ र २४ को जेन-जी आन्दोलन/विद्रोहकै स्वरुपको जस्तो अर्को एउटा लोकतान्त्रिक अभिव्यक्ति मान्न सकिन्छ । लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरूलाई पुरस्कार र दण्ड भनेको निर्वाचन भएको हुँदा यस निर्वाचनमा पुराना दलहरूलाई जनताले नराम्रोसँग दण्ड दिएका हुन् । आज पुराना दलहरूले शर्मनाक हार बेहोरेका छन् ।
वास्तवमा अघिल्लो संसदीय निर्वाचनदेखि नै पुराना दलका शीर्ष र केही अन्य नेताहरूहरूप्रति 'नो नट अगेन' र 'इनफ इज इनफ'का नारा घन्केका थिए तर जनताका ती आवाज र आक्रोशलाई सम्बन्धित दलहरूले सुन्नै चाहेनन् । पुराना दलहरूले जसरी पनि चुनाव जित्नका लागि गठबन्धनका नाममा अनेक किसिमका ठगबन्धन गरे । देशमा कुशासन र भ्रष्टाचार चरम भएपछि विद्रोह स्वरुप भदौ २३ गते भएको जेन-जी आन्दोलनलाई समेत कतिपय दलले नजरअन्दाज गरे ।
नेपाली कांग्रेसले जेन-जी आन्दोलनका मुद्दालाई स्वीकारे पनि जनअनुमोदित हुन सकेन भने नेकपा एमालेले त जेन-जी आन्दोलनलाई अझैसम्म पनि प्रतिक्रान्ति भनिरहेको छ । लोकतन्त्रमा सर्वेसर्वा भनेका जनता नै हुन्,जनताका समस्या,पीडा,आवाज र आक्रोशलाई पुराना दलहरूले सम्बोधन गर्न नसक्दा आजको परिस्थिति भोग्नु परेको हो । मान्छेमा रहेको अति,अहंकार र दम्भले आफैँलाई सकाउँछ भन्ने कुरा नेपाली राजनीतिका शीर्षस्थ नेतृत्वको अहिलेको परिणामले देखाउँछ ।
हिजो जनतालाई अचाक्ली गर्दा आज मुख लुकाएर भाग्नुपर्ने परिस्थिति सिर्जना भएको छ। खासगरी शीर्ष तीन नेताहरू सत्ता र शक्तिको उन्मादमा राजनीतिक रुपमा आफू पनि सकिए भने आफ्ना पार्टी पनि सकाए । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी (हाल नेकपा) जस्ता इतिहास बनाएका पार्टीहरू देश र जनताप्रति गैरजिम्मेवार र जवाफदेही नहुँदा जनताबाट तिरष्कृत भए। चुनावका बेलामा कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा नेपालमै बस्न सकेनन् भने एमाले अध्यक्ष केपी शर्मा ओली भने वालेन्द्र साह बालेनसँग ५० हजार मतले पराजित भए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने हार्ने डरले कहिल्यै पनि ठाउँ दोहोर्याउँदैनन् । यसपालि रूकुम पुगेर जिते । आफू जितेर के गर्ने उनले आफ्नै छोरीलाईसमेत जिताउन सकेनन् ।
अहिलेको निर्वाचनले रास्वपालाई अनपेक्षित सुनामीको भारी र पुरानालाई दण्ड त दियो कि अन्य धेरै नयाँ सन्देशहरू पनि दिएको छ । नेपाली राजनीति, समाज र संविधानमा भएको निर्वाचन प्रणालीका बारेमा खडा भएका थुप्रै किसिमका भाष्यलाई चिरेको पनि छ । कुनै पनि दलका मत भनेका भ्रातृ संगठनको संख्या, अघिल्लो निर्वाचनमा प्राप्त गरेको लोकप्रिय मत, कोर एरिया, संगठित सदस्य संख्या, कार्यकर्ता, मासु र मसल अनि संसदमा एउटै पार्टीको बहुमत वा दुईतिहाई आउन गाह्रो हुन्छ भन्ने जस्ता भाष्यहरू चिरिएका छन् ।
अहिलेको निर्वाचनलाई गहिरो गरी नियाल्दा नेपाली मतदाताको राजनीतिक रूपमा चेतनाको स्तर अत्यन्तै माथि गएको देखिन्छ । कुनै पनि दलका संगठित भनिएका कार्यकर्ता नै असंगठित र विश्वासहीन भएका छन् । कुनै एउटा निश्चित निर्वाचन क्षेत्रमा कुनै दलका संगठित वा सक्रिय कार्यकर्ताभन्दा त्यो दलका उम्मेदवारलाई कम मत खसेका छन् । निर्वाचनका परम्परित प्रचारात्मक शैली सबै असफल भएका छन् ।
कार्यकर्ता वा मतदाता कसैका निजी मत बन्ने परम्परा अन्त्य भएको छ । नेपाली मतदाताहरूले गत निर्वाचनहरूमा आँखा चिम्लेर पुराना पार्टीलाई मत खसाल्थे भने अहिले विवेक,आशा,विश्वास र शंकासहित मत खसालेको देखिन्छ । अहिलेका मतदाताले बेहोशमा रास्वपालाई यति धेरै मत दिएका पक्कै होइनन् । अहिलेको जनमतको परिणाम भनेको रास्वपाप्रतिको आशा,अपेक्षा र विश्वास अनि पुराना पार्टीप्रतिको आक्रोशको विष्फोट हो ।
रास्वपालाई यति धेरै मत आउनुमा गत भदौ २३ र २४ को जेन-जी आन्दोलन/विद्रोह/विध्वंश,रास्वपाका सांसदहरूको संसदीय भूमिका, सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र साहको व्यक्तिगत प्रभाव, उम्मेदवारमा नयाँ अनुहारहरू, चुनाव चिन्ह घण्टी, रास्वपाकै करारनामा र वाचापत्र,नयाँ तरिकाको डिजिटल प्रचारात्मक शैली र पुराना दलहरूको अहंकार र दम्भ आदि जस्ता धेरै कारकहरूले काम गरेका छन् । आम नेपाली मतदाताको सामाजिक मनोविज्ञान एउटै हुन पुरानाका विरुद्धमा नयाँ पार्टी रास्वपाप्रति यो तरिकाको मतको सुनामी कसरी आयो भन्ने कुरामा भने अझै धेरै खोज र अनुसन्धान भने गर्नुपर्ने नै देखिन्छ ।
नेपालका हिमाल, पहाड, तराई, गाउँ, सहर, सुगम, दुर्गम, युवा, ज्येष्ठ, महिला, पुरुष आदि सबै मतदातामा एउटै किसिमको मनोविज्ञान पैदा हुनुको पहिलो कुरा त पुरानाहरूले गरेको विगत ३५ वर्षदेखिको कुशासन, भ्रष्टाचार र बेरोजगारीको परिणाम नै हो । पुराना दलहरूले राज्य र यसका सम्पूर्ण संयन्त्रहरूलाई अति दलीयकरण गर्दा नेपालीहरू निकै आक्रोशित भएका थिए ।
जनताले व्यवस्था र प्रणाली परिवर्तन गर्न अनेक किसिमका आन्दोलन गरे,रगतको खोलै बगाए,शहीद भए तर पुराना दलहरूले जनताको अवस्था परिवर्तनको लागि जिम्मेवार र विश्वासयोग्य हुनै सकेनन् । राजनीतिलाई व्यवसाय बनाए । भ्रष्टाचारमा चुर्लुम्म डुबे । विगत एक दुई दशकदेखि कांग्रेस, एमाले र माओवादी जस्ता दलहरूले भूईँ मान्छेका पीडा र समस्याहरू सुन्दै सुनेनन् र बुझ्दै बझेनन् । कांग्रेस र कम्युनिस्ट भन्नेहरू वैचारिक रुपमा फरक नै भएनन् । नेपाली राजनीतिमा बारम्बार असफल प्रमाणित भएका पात्र र प्रवृत्तिहरू संसद र सत्तामा पुगेर राज्य संयन्त्रको चरम दुरुपयोग गरे ।
पुराना दलका शीर्ष नेताहरू देउवा, ओली र प्रचण्डले राज्यसत्तालाई यति दुरुपयोग गरे कि म्युजिकल चेयरका आधारमा आलोपालो गरी शासन गरे । यिनकै कारण देश कुशासन र भ्रष्टाचारले थिलोथिलो भयो । देशमा सुशासन भन्दा पनि भ्रष्टाचारका काण्डैकाण्ड थुप्रिए । पुराना दलका जिम्मेवार नेताहरूले नै नेपाली नागरिकलाई विदेशी नागरिक बनाएर बेच्ने सम्मका अति क्रूर र अमानवीय कामहरू गरे ।
शासकहरू सत्ताको उन्मादमा यति हदैसम्म अहंकारी, दम्भी र क्रूर भए की यो देशमा लोकतान्त्रिक व्यवस्था छ भन्नेसम्मका कुराहरू नै बिर्सिएर भदौ २३ गते सुशासन र भ्रष्टाचारको विरुद्धमा आन्दोलनमा उत्रिएका निहत्था नवयुवालाई अन्धाधुन्ध गोली ठोकी मारे।
अहिले विश्वभर इन्टरनेट सुविधाको पहुँच र सामाजिक सन्जालको प्रयोगले संसार एउटा घर बनेको परिस्थितिमा नेपालको राज्य सत्तामा हुने सबै किसिमका अनियमितता, भ्रष्टाचार, कुशासन, दलतन्त्र बाट नेपाली जनताहरू आजित भएका थिए । सुगम र दुर्गम अनि गाउँ र सहरका जनताका आक्रोशका ज्वालामुखीहरू समय समयमा विभिन्न रूपमा दन्किरहन्थे तर त्यसलाई सुन्ने र निभाउने प्रयत्न पुराना दलले गर्न सकेनन् । त्यसैले पनि देशभरका जनताले यसपालिको निर्वाचनमा रास्वपालाई आशा र विश्वासका साथ पुरस्कार र पुराना दलहरूलाई राजनीतिक अपराधी र भ्रष्टाचारीका रुपमा नै दण्ड दिएका हुन् ।
आज रास्वपालाई विश्वास गरी खन्याइएको सुनामी मत केवल हावा, आवेग, उत्तेजना मात्र नभई वैकल्पिक रुपमा आशाको त्यान्द्रो मानी सुविचारित र विवेकसम्मत हो भन्न सकिन्छ । यद्यपि यो मतमा शंका पनि छ । आफूलाई नयाँ भन्दै आएको रास्वपा नयाँ नै भने होइन तापनि यसको इतिहास त्यति लामो पनि छैन । रास्वपा ०७९ को मंसिरमा उदाएको पार्टी हो । यो पार्टी ७ असार ०७९ मा जन्मिएर १७ असारमा ०७९ मा निर्वाचन आयोगमा दर्ता भएको थियो ।
पार्टीले छोटो समयावधिमा जनताको मन र मत जित्न सफल भएको छ । नेपाली राजनीतिभित्र रहेको फोहोरलाई आफैं भित्र नपसी सफा हुँदैन भन्ने आत्मविश्वास र आत्मबलका साथ मिडियाकर्म छोडी राजनीतिमा छिरेका पार्टी सभापति रवि लामिछानेमा विकास र समृद्धिको हुटहुटी निकै उच्च नै देखिन्छ। रवि लामिछानेले पार्टी जन्माउने बेलामा भनेको लाइन मिडियाको हेडलाइन बदल्न नसकुँला तर जनताको लाइफलाइन बदल्न सक्छु भन्ने आत्मविश्वासलाई जनताले पुनः साथ दिएका छन् । पटक पटक ०८४ मा बहुमतको सरकार बनाउने भन्दै आएको रास्वपालाई ०८२ मै करिब दुईतिहाईको सरकार बनाउने अवसर जनताले दिएका छन्।
फागुन २१ को निर्वाचनमा मतदाताले नयाँ वा वैकल्पिक भनिएको रास्वपालाई विश्वास गरी जुन किसिमको मतको सुनामी दिएका दिएका छन्,त्यो सुनामीलाई थेग्न रास्वपाले निकै जिम्मेवार हुनुपर्ने देखिन्छ।यदि यो सुनामीलाई रास्वपाले पुरानालेजस्तै लापरबाही र नजरअन्दाज गर्यो वा जनताको आशय र आशालाई सम्हाल्ने प्रयत्न गरेन भने आगामी आवधिक निर्वाचन पनि टाढा नहोला भन्न सकिन्न। आगामी निर्वाचनमा अहिलेका पुरानै पार्टीको जस्तो अवस्था गराइदिनेछन्।देशको ठूलो दल बनेको रास्वपालाई जति अवसर छन् त्यत्तिकै मात्रामा चुनौती छन् ।
हिजो रास्वपाले प्रश्न उठाए पुग्थ्यो भने अब उसले थुप्रै प्रश्नहरूका जवाफ दिनुपर्छ।अहिले रास्वपामाथि यति धेरै जिम्मेवारी र जवाफदेहीका चाङ् छन् कि हिसाब गरी साध्य छैन।रास्वपालाई अहिले सोच्ने र पर्खिनेसम्मको पनि समयसम्म छैन।नेपाली जनताले रास्वपालाई चुनावी प्रचारमा डिजिटलको साथ अनि मतमा फिजिकलको आशा र विश्वास दिएका छन्,यसलाई रास्वपाले निकै संवेदनशील भएर ग्रहण गरोस् । अहिलेका जनतालाई यति छिटो परिणाम चाहिएको छ कि आज र अहिले होइन भर्खरै चाहिएको छ । रास्वपाले अहिले प्राप्त गरेको यो जनमतको हुरीलाई अवमूल्यन वा अटेर गरी पार्टीभित्र फेरि शक्ति र पदका लागि आपसी द्वन्द्व सिर्जना गर्न थाल्यो भने यो हुरीले रास्वपालाई फुटाउन र बढार्न पनि सक्छ।
संसदमा करिब दुईतिहाई सिट प्राप्त गरेको रास्वपालाई अब कहिँ कतै कसैलाई दोष लगाएर उम्कने ठाउँ नै छैन । यति ठूलो संख्यामा संसदमा उपस्थित भएको रास्वपाले अब पुराना दललाई गाली गरेर उम्कन मिल्दैन । रास्वपाको पहिलो काम भनेको देशमा सुशासन कायम गर्नु नै हो । अहिले राज्य संयन्त्रका सम्पूर्ण अङ्गहरू फुत्ते र दलीय भएका छन्, तिनलाई सफा र स्वायत्त बनाउनुपर्छ । न्यायपालिका हुँदै विश्वविद्यालय र कर्मचारी प्रशासनलाई नयाँ र अत्याधुनिक बनाउनुपर्छ ।
यी सबै सरकारी कार्यालयहरू विधि र नियमअनुसार चलाउनु पर्छ । रास्वपाले निर्वाचनको बेला जनता माझ कबोल गरेका करारनामा र वाचाहरू मात्रै इमान्दारीपूर्वक पूरा गर्दै जाने हो भने जनताहरूले परिवर्तनको अनुभूति गर्न सक्ने देखिन्छ । रास्वपाका सांसदहरूले भदौ २३ गते भएको विद्रोहको आत्मसात् गर्दै जनताले दिएका यी माया,सद्भाव,आशा र विश्वासका भारीहरूलाई निकै संवेदनशील भएर ग्रहण गरून् ।
रास्वपा जनताको मतको भारीले नथिचियोस् र नमात्तियोस् । आम जनताले देशमा अवस्था परिवर्तन भएको अनुभूति छिट्टै गर्न पाइयोस् । नेपालीहरू रोजगारीकै लागि विदेश जान नपरोस् । रोजगारीकै लागि विदेश गएका प्रवासीहरू जति सक्यो छिटो देश फर्कने वातावरण बनोस् । अहिलेलाई रास्वपालाई सफल कार्यकालको लागि शुभकामना ।। (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)