काठमाडौँ । बाजुरामा वसन्त ऋतुको आगमनसँगै पुनः वर्षा र हिमपात भएको छ। माघ महिनाको दोस्रो साता दुई पटकसम्म परेको हिउँपछि अहिले चैतको सुरुवातमा जिल्लामा तेस्रो पटक हिमपात भएको हो। आइतबार बिहानैदेखि बदलिएको मौसमसँगै गएराति भारी वर्षा र हिउँ परेपछि यहाँको जनजीवन प्रभावित भएको स्थानीयले बताए।
जिल्लाका नौ वटै स्थानीय तहका उच्च लेकाली तथा हिमाली भू-भागहरू हिउँले सेताम्मे भएका छन्। चैतमा भएको यो हिमपातका कारण अत्यधिक चिसो बढेपछि हिमाली क्षेत्रका वन्यजन्तु समेत चिसो छल्न बेसीतिर झरेका छन्। विशेषगरी बालबालिका र वृद्धवृद्धाहरू चिसोबाट बढी प्रभावित भएका छन् भने चिसोकै कारण मानिसहरूको दैनिकी कष्टकर बनेको जल तथा मौसम विज्ञान विभागले बताए।
हिमपातका कारण बाजुराका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू बडिमालिका, बूढीनन्दा, सुनन्दा, रानीसैन, कालाजग्रा र बडालेख हिउँको घुम्टोमा सजिएका छन्। यी क्षेत्रहरू सेताम्मे देखिँदा पर्यटकीय हिसाबले आकर्षक देखिए पनि चिसोले गर्दा आवतजावतमा कठिनाइ भएको स्थानीय प्रशासनले बताए।