कारबाहीको माग गर्दै काठमाडौंमा मिटरब्याजी पीडितको प्रदर्शन [भिडियो]
मिटरब्याजी विरुद्ध पीडितको गर्जन: "ठगहरूलाई उन्मुक्ति होइन, हदैसम्मको कारबाही चाहियो"
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २ सोमबार
685
Shares
काठमाडौँ । मिटरब्याजबाट पीडित सर्वसाधारणले ठगी गर्ने गिरोहलाई कडा कारबाही गर्न माग गर्दै सोमबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन्। भद्रकालीस्थित जिल्ला प्रहरी परिसर अगाडि भेला भएका पीडितहरूले पक्राउ परेका मिटरब्याजीहरूलाई कुनै पनि हालतमा उन्मुक्ति नदिन सरकारसँग माग गरेको बताए।
प्रहरीले हाल लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा शान्ति तिवारी र विनय टिवटेवालालगायतका मिटरब्याज पीडकहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनीहरूलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्ने भन्दै दबाब दिन आफूहरू सडकमा उत्रिनुपरेको पीडित मञ्जु श्रेष्ठले बताए। उनले समाजबाट यस्ता कुख्यात मिटरब्याजीहरूलाई निर्मूल पार्नुपर्ने र समाजले नै उनीहरूलाई तिरस्कार गर्नुपर्ने धारणा व्यक्त गरे। "हामी यहाँ ५ सय जनाभन्दा बढी पीडित छौँ, जसमध्ये ४५ जनाले उजुरी दर्ता गरिसकेका छौँ," श्रेष्ठले बताए।
पीडितहरूले दोषीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया सुरु गरेकोमा नेपाल सरकार, प्रहरी र अदालतलाई धन्यवाद समेत दिएका छन्। अर्की पीडित सुनिता चापागाईँ खतिवडाले नेपालमा एक लाखभन्दा बढी मानिस मिटरब्याज, भूमिहीन र अनुचित लेनदेनको चपेटामा परेको उल्लेख गर्दै यस्ता अपराधमा संलग्नहरूलाई सरकारले कुनै पनि बहानामा छोड्न नहुने बताए। उनले पीडितको पक्षमा न्याय सुनिश्चित गर्न र ठगी गर्ने गिरोहलाई कानुनी कठघरामा उभ्याउन राज्यले थप सक्रियता देखाउनुपर्नेमा जोड दिए।
नेपालमा विगत केही वर्षदेखि मिटरब्याज पीडितहरूले न्यायका लागि र दोषीउपर कारबाहीको माग गर्दै निरन्तर आन्दोलन र प्रदर्शन गर्दै आएका छन्।