arrow

नवलपुरमा 'साइलेन्ट किलर' बन्दै जापनिज इन्सेफ्लाइटिस: डेढ लाख नागरिकलाई खोप दिइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
japnees-inseflities-vaccine.jpg

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमण र मृत्युदर बर्सेनि बढ्दै गएपछि नियन्त्रणका लागि विशेष खोप अभियान सुरु गरिएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालयले यही चैत १ गतेदेखि जिल्लाका आठवटै स्थानीय तहमा ३५ वर्षमाथिका नागरिकलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरेको हो। यस अभियानमार्फत जिल्लाभरका करिब एक लाख ५० हजारभन्दा बढी व्यक्तिलाई खोप लगाउने लक्ष्य राखिएको कार्यालयका प्रमुख केशव चापागाईँले जानकारी दिए।

जिल्लामा यो रोगको अवस्था निकै भयावह देखिएको छ। चालु आर्थिक वर्षमा मात्रै १५ जनामा सङ्क्रमण पुष्टि भएकोमा ६ जनाको ज्यान गइसकेको छ। यसअघि आर्थिक वर्ष २०७९/८० मा सात जना सङ्क्रमितमध्ये पाँच जनाको र आव २०८०/८१ मा आठ जनामध्ये एक जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ।

सङ्क्रमणको यो बढ्दो दरलाई मध्यनजर गर्दै जोखिम कम गर्न खोप नै प्रभावकारी उपाय भएकाले अभियानलाई तीव्रता दिइएको जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालले बताए।

जापनिज इन्सेफ्लाइटिस मुख्य गरी क्युलेक्स नामक लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। खैरो रङको यो लामखुट्टे विशेषगरी धानबालीमा जमेको पानीमा बस्ने र साँझपख बढी सक्रिय हुने गर्दछ।

साउनदेखि असोजसम्म यसको जोखिम उच्च रहने भए पनि पूर्वसावधानीका लागि अहिले नै खोप अभियान चलाइएको हो। विश्वभर वर्षेनी ५० हजारभन्दा बढी मानिस यसबाट सङ्क्रमित हुने र करिब १० देखि १५ हजारको मृत्यु हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ