उदयपुरमा हुरीबतासको वितण्डा: रुखले किचेर दुई जनाको मृत्यु, छ घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
647
Shares
काठमाडौँ । उदयपुरको कटारी नगरपालिकामा सोमबार साँझ आएको भीषण हुरीबतासले जनधनको ठुलो क्षति पुर्याएको छ। हुरीका कारण रुख ढलेर र हाँगाले लागेर दुई जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलियाटारकी ४९ वर्षीया मीनामाया तामाङ र कटारी–५ तीनकुने चोकका ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्। तामाङलाई कुटमेरोको रुखको हाँगाले लागेको थियो भने चौधरीलाई राधाकृष्ण मन्दिर नजिकै सखुवाको रुख ढलेर लागेको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले बताए।
हुरीबतासबाट घाइते भएका ६ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको छ। रिफर हुनेमा कटारी–५ का ४६ वर्षीय लीलबहादुर दनुवार र कटारी–८ की २० वर्षीया कमलाकुमारी पुलामी मगर रहेका छन्। अन्य चार जना घाइतेहरू पाँच वर्षीया बिनिशा चौधरी, २७ वर्षीय युवराज कार्की, प्रेमचन्द्र दनुवार र १६ वर्षीया अस्मिता परियारको कटारी अस्पतालमा प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले बताए।
हुरीबतास र वर्षाका कारण कटारीको पहाडी क्षेत्रमा धेरै घरका छानाहरू उडाएको र भौतिक क्षति भएको प्रारम्भिक विवरणहरू प्राप्त भएका छन्। मृतकहरूको शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको छ। प्रहरीले क्षतिको थप विवरण संकलन गरिरहेको र प्रभावित क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ।