पितृवियोगमा परेका पूर्वप्रधानमन्त्रीलाई दिए सान्त्वना
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
851
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहेका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समवेदना व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेल मंगलबार भक्तपुरको गुण्डूस्थित ओली निवासमै पुगेर शोकाकुल परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गरेका हुन्।
एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो।
राष्ट्रपति पौडेलले दिवङ्गत मोहनप्रसादको आत्माको चिरशान्तिको कामना गर्दै यो कठिन घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरेका छन्।
९७ वर्षको लामो र अर्थपूर्ण जीवन व्यतीत गरेका मोहनप्रसादको निधनप्रति विभिन्न राजनीतिक दलका नेताहरूले पनि समवेदना प्रकट गरिरहेका छन्।
भेटका क्रममा राष्ट्रपतिले अध्यक्ष ओलीसँग केही बेर कुराकानी गर्दै शोकको यस घडीमा राज्यको तर्फबाट साथ र सद्भाव रहेको सन्देश दिएका थिए।