बाजुरा । कर्णाली पारीको एकमात्र स्थानीय तह बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा आयोजित कृषि जैविक विविधता मेला सकिएको छ । सोही पालिकाको वडा नं ४ देउरामा बुधबार कृषि जैविक विविधता मेला आयोजना गरिएको थियो ।
‘कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला-२०८२’ स्थानीय बालीको संरक्षण, प्रवर्द्धन र बजारीकरणलाई मुख्य लक्ष्य बनाउँदै सम्पन्न भएको गाउँपालिका कृषि शाखाले जनाएको छ ।
गाउँपालिकाको आयोजना तथा परियोजनाको सहआयोजनामा सञ्चालन गरिएको कृषि मेला प्रदर्शनी कार्यक्रमले अर्ग्यानिक वस्तुहरूको उत्पादन, प्रशोधन र बजारीकरणमा सहज पुर्याउने भएको छ ।
कार्यक्रमले कृषकलाई प्रोत्साहन मिल्नुका साथै स्थानीय उत्पादनको पहिचानमा समेत टेवा पुग्ने विश्वास लगिएको छ ।
मेलामा कृषकहरूले उत्पादन गरेका अर्ग्यानिक रैथाने बाली, विभिन्न विउविजन, परम्परागत खाद्य परिकार, निगालोबाट बनेका सर-सामग्रीलगायतको प्रदर्शनी गरिएको थियो । विभिन्न स्टलमा फरक-फरक किसिमका खाद्य बालीनाली राखिएका थिए ।
कार्यक्रमले पालिकामा सक्रिय रूपमा कृषि व्यवसाय गरिरहेका कृषकलाई राहत र प्रोत्साहन मिलेको कृषि शाखा प्रमुख विनोद शाहीले बताए ।
उनका अनुसार,यस्ता कार्यक्रमले कृषकहरूको मनोबल बढ्ने र उनीहरू थप कृषि खेतीतर्फ आकर्षित हुने अपेक्षा रहेको जानकारी दिए ।
कार्यक्रममा महिला देउडा, नृत्यसहित विविध सांस्कृतिक प्रस्तुतिसमेत राखिएका थिए । उत्कृष्ट खाद्य बाली प्रदर्शनी गर्ने कृषकलाई नगदसहित प्रमाण पत्रले सम्मानित समेत गरिएको थियो ।
गाउँपालिका उपाध्यक्ष सुलोचना कुमारी भण्डारी बुढाले पालिकामा कृषि उपज वस्तुहरूको उत्पादनमा जोड दिएर गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाइने बताइन् ।
उनले पालिकाका कृषकलाई विभिन्न समयमा कृषिसम्बन्धी तालिम, विभिन्न वीउविजन र सफल कृषकलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आएको बताइन् ।
पालिकाले कृषि क्षेत्रको लगानीमा बजेट विनियोजनसमेत गर्दै आएको उनले बताएकी हुन् ।