arrow

कालीकोटका तीन स्थानीय तहमा दुर्लभ रेडपान्डा भेटियो, संरक्षणमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
red-panda-12.jpg

कालीकोट। कालीकोटका तीन स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) भेटिएपछि यसको संरक्षणमा चासो बढेको छ। जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकाका विभिन्न वन क्षेत्रमा रेडपान्डाको उपस्थिति पुष्टि भएको संरक्षणमा सक्रिय सरकारी तथा गैरसरकारी संस्थाले जनाएका छन्।

तिलागुफा नगरपालिका-१० को रुरुबञ्चु पाटन, शुभकालिका गाउँपालिका-६ को हाउडी लेक र महावै गाउँपालिका-२ को महावै पाटन क्षेत्रमा रेडपान्डा भेटिएको हो।

जैविक विविधताको अनुगमनका क्रममा रुरुबञ्चु क्षेत्रमा रेडपान्डा फेला परेको हुरन्डेक नेपालका कालीकोट जिल्ला संयोजक दिलीपकुमार शाहीले बताए।

उनका अनुसार स्थानीय समुदायलाई रेडपान्डाको बासस्थान रहेका निगालो र बाँसका वन जोगाउन तथा संरक्षणमा सहभागी हुन सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ।

तिलागुफा नगरपालिकाका प्रमुख महेन्द्रबहादुर शाहीले विगतदेखि स्थानीयले रेडपान्डा देखिएको जानकारी दिँदै आए पनि पछिल्लो अध्ययनबाट यसको उपस्थिति पुष्टि भएको बताए। उनले स्थानीय तह र विभिन्न सङ्घसंस्थाको सहकार्यमा संरक्षण अभियान अगाडि बढाइएको जानकारी दिए।

शुभकालिका गाउँपालिका-६ को हाउडी लेक तथा महावै गाउँपालिकाको महावै पाटन क्षेत्रमा पनि रेडपान्डाको उपयुक्त बासस्थान रहेको र त्यहाँ यसको उपस्थिति भेटिएको सम्बन्धित स्थानीय तहले जनाएका छन्।

चिसो हावापानी भएको बाँस र निगालोका वन रेडपान्डाको मुख्य बासस्थान मानिन्छ। तर, वन क्षेत्रमा बढ्दो मानवीय गतिविधि, डढेलो, बासस्थानको विनाश र घरपालुवा कुकुरको आक्रमणका कारण यो दुर्लभ वन्यजन्तु जोखिममा पर्दै गएको संरक्षणकर्मीहरूले बताएका छन्।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ