जङ्गलमा श्रीमतीको हत्या गरी श्रीमानले आफैँमाथि हाने गोली
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
751
Shares
काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–४, अमेलेशैनी गाउँमा एक युवकले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेपछि आफैँलाई पनि गोली हानेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले ३१ वर्षीय रामबहादुर मगरले २७ वर्षीया श्रीमती सञ्जिता मगरको हत्या गरी आत्महत्याको प्रयास गरेको जानकारी दिएका छन्।
प्रहरीका अनुसार गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ। आफैँमाथि गोली प्रहार गरी गम्भीर घाइते भएका रामबहादुरलाई बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ।
बुधबार अपराह्न गाउँ नजिकैको जङ्गलमा बाख्रा चराइरहेका बेला श्रीमान्-श्रीमतीबीच आपसी विवाद हुँदा रामबहादुरले आफ्नो साथमा रहेको भरुवा बन्दुक प्रहार गरेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता तिमिल्सिनाले बताए।
गए राति मात्र स्थानीयले घटनाबारे खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ। घटना भएको यकिन समय खुल्न बाँकी रहेको र मृतक महिलाका माइती पक्ष आएपछि मात्र मुचुल्का उठाएर शव परीक्षणका लागि पठाइने तयारी भइरहेको प्रहरीले उल्लेख गरेको छ।