महानगर र प्रसूति गृहबीच स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि सम्झौता
दुई करोड अनुदानमा प्लान्ट निर्माण हुने
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
676
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिका र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबीच स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि 'प्लान्ट' निर्माण गर्न अनुदानसम्बन्धी सम्झौता भएको छ। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच दुई निकायले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार प्रसूति गृहले महानगरअन्तर्गतका विभिन्न वडामा रहेका स्वास्थ्य प्रवर्धन केन्द्रहरूबाट निस्कने संवेदनशील स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि विशेष प्लान्ट निर्माण गर्नेछ। यस परियोजनाका लागि महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट २ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ।
एमओयू कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले महानगरभित्र स्वास्थ्य प्रवर्धन केन्द्रहरूको विस्तारसँगै त्यहाँबाट निस्कने फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले यो कदम चालिएको बताइन्। काठमाडौँभित्र कुनै पनि नयाँ संरचना बनाउन खाली ठाउँको चरम अभाव रहेको उल्लेख गर्दै उनले अस्पतालसँगको यो सहकार्यले ठाउँको समस्या सल्टाउने विश्वास व्यक्त गरिन्।
उनले भनिन्, "हाम्रा स्वास्थ्य प्रवर्धन केन्द्रबाट निस्कने फोहोर निकै संवेदनशील हुन्छन्। ठाउँ अभावका कारण हामीले विभिन्न अस्पतालहरूसँग छलफल गरे पनि यसअघि काम सफल हुन सकेको थिएन। अब प्रसूति गृह र महानगरका केन्द्रहरूको फोहोर एकै ठाउँमा प्रभावकारी रूपमा व्यवस्थापन हुनेछ।"
कार्यवाहक प्रमुख डङ्गोलले प्लान्ट निर्माणको कार्य तत्कालै सुरु गरी समयमै सञ्चालनमा ल्याउन प्रसूति गृहलाई अनुरोध समेत गरिन्। यो प्लान्ट निर्माण भएपछि महानगरका ३२ वटै वडाका स्वास्थ्य केन्द्रहरूबाट निस्कने जोखिमपूर्ण फोहोरलाई वैज्ञानिक ढंगले विसर्जन गर्न सहज हुने अपेक्षा गरिएको छ।