arrow

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्–एमालेकै समर्थनमा संविधान संशोधन प्रस्ताव पारित हुन्छ

logo
प्रकाशित २०७३ फागुन १४ शनिबार
baldev-g-new.jpeg

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन प्रस्ताव एमालेकै समर्थनमा संसदबाट पारित गराउने गृहकार्य अगाडि बढिरहेको बताएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै खनालले भने,‘संशोधन प्रस्ताव ढिलोमा एक महिनाभित्रै पारित हुन्छ, कुन प्रक्रियाबाट मतदान गराउने भन्नेबारेमा हामीले छलफल गरिरहेका छौं, गोप्य रुपमा मतदान गर्दाखेरि दुई तिहाई पुग्ने आधार सरकारसँग छ, तर एमालेकै समर्थनमा पारित हुन्छ, त्यसो भयो भने काँग्रेस, एमाले र माओवादी केन्द्र मिलेर नै प्रस्ताव पारित गराएर चुनावमा सहमतिका साथ जान्छौं ।’ उनले संशोधन प्रस्ताव भारी मतले पारित हुने समेत दाबी गरे ।  

खनालले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच संशोधन प्रस्ताव पारित गराउनेबारे सहमति बन्दै गएको समेत खुलासा गरे । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले तत्काल वामपन्थी गठबन्धन बनि हाल्ने संभावना नभएपनि भविष्यमा गठबन्धन बन्ने कुरालाई नकार्न नसकिने स्पष्ट पारे ।

उनले भने,‘परिस्थिति आयो भने वामपन्थी गठबन्धन बनाउनपनि सकिन्छ, संविधान संशोधन प्रस्ताव पारित गराउनकै लागि सरकारले जस्तोसुकै रणनीति बनाउन सक्छ, एमालेसँग यसबारेमा कुराकानी सकारात्मक भैरहेको छ ।’ उनले काँग्रेससँग अहिले नै गठबन्धन तोडिहाल्ने पक्षमा आफ्नो पार्टी नहरेको जिकिर गर्दै भने,‘स्थानीय तहको निर्वाचन भएपछि नेतृत्व हस्तान्तरण हुन्छ, हामी सहमतिकै साथ अगाडि बढ्छौं, अब स्थानीय तहको निर्वाचन कसैले भाँड्न सक्दैन, बैशाख ३१ गते नै चुनाव हुन्छ, सरकार जस्तोसुकै चूनौतिको सामाना गरेर चुनाव गराउन प्रतिबद्ध छ, मधेशी मोर्चाले चाहेरपनि चुनाव विथोल्न सक्दैन्, स्थानीय तहको निर्वाचन भएपछि अरु निकायको चुनावपनि हुन्छ ।’

देश चुनावतिर अघि बढेकोले चुनाव गर्नबाट कसैलेपनि रोक्न नसक्ने बताउँदै खनालले भने,‘कुनैपनि बहानामा चुनाव स्थगित् गर्नुहुँदैन्, ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव गर्नुपर्छ, अनिमात्रै संविधान कार्यान्वयन हुन्छ ।’ त्यस्तै उनले ५ नम्बर प्रदेशका जनतालाई चित्त बुझाउनको लागि उक्त प्रदेशलाई अहिले नै सुगम प्रदेश बनाउनेगरि केही सुविधा अहिले नै दिनेगरि तयारी भैरहेको समेत स्पष्ट पारे ।

त्यस्तै उनले स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउने सरकारले तयारी गरिरहेकोले मोर्चापनि चुनावमा भाग लिनेमा आफूहरु पूर्ण विश्वस्त रहेको स्पष्ट पारे। प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता एनपी साउदले मधेशी मोर्चाले भाग नलिएपनि चुनाव भएरै छाड्ने उद्घोष गरेका छन् । उनले भने,‘चुनाव गर्नुपर्छ, कुनैपनि बहानामा चुनावलाई रोक्नुहुँदैन, मधेशी मोर्चाले विरोध गर्दैमा चुनाव नहुने भन्ने कुरा हुँदैन् ।’

साउदले भने,‘एक, दुई , तीन चुनाव भएरै छाड्छ, देश अब चुनावमय भएको छ।’ उनले आफ्नो पार्टीले चुनाव गराउन र संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे। उनले थपे,‘संशोधन प्रस्ताव पनि पारित हुन्छ, एमालेले समर्थन गर्छ ।’ उनले वर्तमान सरकारले नै स्थानीय तहको निर्वाचन गराउने दाबी गरे। साउदले भने,‘यही सरकारले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गराउँछ ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता वंशिधर मिश्रले संविधान संशोधन प्रस्तावलाई टुँगोमा पुर्याउनको लागि एमालेले कुनैपनि अवरोध नगर्ने स्पष्ट पारेका छन्। मिश्रले भने,‘हाम्रो पार्टी चुनावको बाधा, अड्चन हटाउनको लागि संविधान संशोधन प्रस्तावलाई प्रक्रियामै  लगेर टुँगो लगाउनुपर्छ भन्ने कुरामा स्पष्ट छ, प्रक्रियाबाट आएको निश्कर्षलाई मोर्चाले पनि स्विकार्नुपर्छ, लचकता देखाउनुपर्छ ।’

उनले आफ्नो पार्टी लचिलो बनिसकेकोले अब मधेशी मोर्चापन लचिलो बन्नुपर्ने माँग गरे। उनले भने,‘समस्याको समाधानको मिलनविन्दु खोज्नको लागि वार्ता तथा सम्वादलाई निरन्तरता दिनुपर्छ।’ मिश्रले संशोधन प्रस्ताव मधेशी मोर्चाको हितमा नभएकोले आफ्नो पार्टीले कुनैपनि हालतमा पारित गर्न नदिने जिकिर गरे ।उनले मधेशी मोर्चालाई चुनावमा भाग लिएर मधेशमा को कति हैसियतमा छ भन्ने कुरा प्रमाणित गराएर देखाउन चूनौति समेत दिए। उनले भने,‘मधेशी मोर्चाले स्थानीय तहको चुनाव जितेर देखाए भैहाल्यो नि !’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ