पर्यवेक्षक समूहले सार्वजनिक गरे निर्वाचन अवलोकन प्रतिवेदन
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ६ शुक्रबार
803
Shares
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ सम्बन्धी अवलोकनमा संलग्न नागरिक समाजका पर्यवेक्षक समूहहरूले प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेका छन् ।
उनीहरूले देशभर सञ्चालन गरिएको निर्वाचन पर्यवेक्षणबाट प्राप्त तथ्य, विश्लेषण र निष्कर्षहरू सार्वजनिक गरेका हुन् ।
पर्यवेक्षक समूहका अनुसार निर्वाचन समग्रमा शान्तिपूर्ण, व्यवस्थित, स्वतन्त्र तथा तुलनात्मक रूपमा निष्पक्ष रूपमा सम्पन्न भएको छ ।
मतदाता शिक्षाको अभाव, मतदान केन्द्रहरूको पहुँचयोग्यता, आचारसंहिता कार्यान्वयनमा कमजोरी, सुरक्षा व्यवस्थामा सुधारको आवश्यकता तथा मतदाता नामावलीमा देखिएका त्रुटिहरूलाई प्रमुख चुनौतीका रूपमा औंल्याइएको छ ।
यस्तै, सामाजिक सञ्जालमार्फत फैलिएको गलत सूचना, घृणायुक्त अभिव्यक्ति र नक्कली समाचारको प्रभाव पनि उल्लेख गरिएको छ ।
यद्यपि सामाजिक सञ्जालले साना राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारहरूलाई कम खर्चमा मतदातासँग प्रत्यक्ष सम्पर्क गर्ने अवसर प्रदान गरेको सकारात्मक पक्षसमेत औंल्याइएको छ ।
पर्यवेक्षक समूहहरूले अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि मतदान केन्द्रहरू पूर्ण रूपमा पहुँचयोग्य नभएको, आवश्यक पूर्वाधारको अभाव रहेको र सार्वजनिक यातायातको सीमितताका कारण मतदानमा सहभागी हुन कठिनाइ भएको उल्लेख गरेका छन् ।
केही स्थानमा पर्यवेक्षकहरूलाई मतदान केन्द्रमा प्रवेशमा अवरोध गरिएको, आवश्यक सामग्री लैजान नदिएको तथा कर्मचारीसँग विवाद भएको घटनाले पर्यवेक्षण प्रक्रियामा असर पारेको पनि जनाइएको छ ।
उनीहरूले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने, सुरक्षा निकायबीच समन्वय सुदृढ गर्ने, अपाङ्गतामैत्री मतदान केन्द्र सुनिश्चित गर्ने, आचारसंहिता कार्यान्वयनमा कडाइ गर्ने तथा मतदाता नामावलीलाई नियमित रूपमा अद्यावधिक गर्ने लगायतका सिफारिसहरू प्रस्तुत गरेका छन् ।
अन्तरजिल्ला तथा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउने र प्रविधिको प्रयोगमार्फत डिजिटल वा अनलाइन मतदान प्रणालीको सम्भावना अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
स्वतन्त्र, निष्पक्ष, भयरहित र पारदर्शी निर्वाचन नै लोकतन्त्रको आधार भएको उल्लेख गर्दै निर्वाचन सम्पन्न गराउन योगदान दिने सबै सरोकारवालाप्रति धन्यवाद व्यक्त गरिएको छ ।