arrow

वर्षा र हिमपातले बाजुरामा चिसो बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ६ शुक्रबार
bajura-himpat-081.jpg

काठमाडौँ । बाजुरामा शुक्रबार बिहानैदेखि लगातार वर्षा र हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। बिहीबार साँझदेखि मौसममा आएको परिवर्तनसँगै सुरु भएको वर्षाले जिल्लाका उच्च हिमाली तथा लेकाली भू–भागहरू हिउँले सेताम्य बनेका छन्।

यस वर्ष बाजुरामा माघ र चैत महिना गरी चौथो पटक हिमपात भएको हो। माघमा भारी हिमपात देखिएकोमा चैत लागेपछि तल्लो क्षेत्रमा वर्षा र उच्च भेगमा निरन्तर हिमपात भइरहेको छ। विशेष गरी बडीमालिका, गौमुल, हिमाली, त्रिवेणी र बुढीनन्दा लगायतका पालिकाका उच्च क्षेत्रहरू हिउँले ढाकिएका छन् भने अन्य स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।

बेमौसमी जस्तो देखिए पनि यो वर्षा र हिमपातले जिल्लाका किसानहरूलाई भने उत्साहित बनाएको छ। हिउँदे बाली सप्रिने र फलफूल खेतीलाई राहत पुग्ने भएपछि स्थानीय कृषकहरू खुसी देखिएको कृषि ज्ञान केन्द्र बाजुराले बताएको छ।

यद्यपि, लगातारको वर्षाले भौतिक पूर्वाधारमा भने समस्या निम्त्याएको छ। मार्तडीदेखि पूर्वी–उत्तरी भेगतर्फ जाने सडकखण्डहरू हिलाम्मे बनेका कारण यातायात सञ्चालनमा निकै कठिनाइ भएको छ। त्यस्तै, विद्युत् लाइनमा समस्या उत्पन्न भएपछि बिहानैदेखि जिल्लाका धेरैजसो क्षेत्रमा विद्युत् आपूर्ति समेत अवरुद्ध भएको छ।

हिमपातसँगै चिसो अत्यधिक बढेकाले स्थानीय प्रशासनले नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ। घरभित्रै बस्न, न्यानो कपडाको प्रयोग गर्न र स्वास्थ्यको ख्याल राख्न प्रशासनले विशेष अपिल गरेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ