arrow

शशांक निवासमा रामचन्द्रको भेला, देउवालाई चेतावनी पत्र

केन्द्रीय समितिको बैठक बोलाउन माग

logo
प्रकाशित २०७३ फागुन १४ शनिबार
Ram-Chandra-poudel-news-aa.jpeg

काठमाडौँ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल केन्द्रीय समितिको बैठक तत्काल बोलाउन माग गरेको छ । महाराजगन्जस्थित महामन्त्री शशाङ्क कोइरालाको निवासमा शनिबार बसेको केही नेताहरुको भेलाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टी केन्द्रीय समिति बैठक बोलाउन माग गरेको केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए ।

भेलाले सरकार सञ्चालन, भ्रातृ संस्था परिचालन, संविधान संशोधन र स्थानीय निकायको निर्वाचनका विषयमा छलफल गर्न अविलम्ब केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवालाई लिखितपत्र बुझाउने निर्णय गरेको समेत नेता पाण्डेले बताए । भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष एवं शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवलगायत केन्द्रीय सदस्यहरु सहभागि थिए ।

संविधान संशोधनमार्फत मधेस समस्या समाधान गरी तीन तहको निर्वाचन गराउन व्यवस्थापिका–संसद्को ठूलो दलको नाताले नेतृत्वदायी भूमिका निर्वाह गर्न छिटो बैठक बोलाएर छलफल गरी ठोस निर्णय लिइनुपर्ने विषय पत्रमा उल्लेख छ । सरकार सञ्चालन, स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत महत्वपूर्ण विषयमा केन्द्रीय समितिमा छलफल नगरी पार्टी नेतृत्वले गरेको गतिविधिप्रति उपस्थित केन्द्रीय सदस्यले असन्तुष्टि राखेका बताइएको छ । पत्र शनिबारै सभापति देउवालाई बुझाइएको वरिष्ठ नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए । भेलामा सभापति शेरबहादुर देउवाले कार्यशैली सच्चाउनु पर्ने आवाज पनि उठेको बताइएको छ ।

देउवाले पार्टी एकलौटी संचालन गरेको र राष्ट्रिय राजनीतिमा पनि काँग्रेसको भूमिका खुम्चिँदै गएको भेलाका सहभागिले निष्कर्ष निकालेका छन् । पहिलो चरणमा चेतावनी वा सचेतना पत्र दिइएको र त्यसपछि पनि नसच्चिए हस्ताक्षर अभियान चलाउने निर्णय समेत भेलाले गरेको बैठकमा सहभागि अर्का एक नेताले बताए ।

ती नेताले भने, ‘साथीहरुले सभापतिजीको कार्यशली ठीक भएन भनेर आवाज उठाउनु भएको छ । पार्टी पनि संस्थागत रुपमा अघि बढ्न सकेन । बाहिर पनि कांग्रेसको भूमिका विवादित र कमजोर मात्रै देखियो । यसको जिम्मेवारी सभापतिले लिनुपर्छ ।’

राजदूत सिफारिस, न्यायधीश नियुक्ति, आइजीपी प्रकरणलगायतका विषयमा पार्टीको भूमिका कमजोर देखिएको र देउवाको हचुवा कार्यशैलीका कारण बामगठबन्धनको खतरा बढेको भन्दै भेलामा निकै आलोचना भएको बताइँदैछ । असन्तुष्टहरुको भेलामा देउवाले बुढानिलकण्ठबाटै पार्टीलाई तदर्थ रुपमा चलाउन खोजेको भन्दै केही सदस्यहरुले कांग्रेसलाई देउवाले निवासमै सुताउन खोजेको टिप्पणी समेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ