पछिल्लो २४ घण्टामा ३० जिल्लामा ३६ विपद्का घटना: एकको ज्यान गयो, ३० लाखको क्षति
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ७ शनिबार
773
Shares
काठमाडौँ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणअनुसार मुलुकका विभिन्न ३० जिल्लामा ३६ वटा विपद्का घटनाहरू भएका छन्। चैत ६ गते बिहान १० बजेदेखि ७ गते बिहान १० बजेसम्मको अवधिमा भएका यी घटनाहरूमा परी एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी चट्याङका घटनाहरू भएका छन्। ९ जिल्लामा भएका १० वटा चट्याङका घटनामा परी १० जना घाइते भएका छन्। त्यस्तै ७ जिल्लामा भएका ७ वटा आगलागीका घटनामा २ जना घाइते भएका छन् भने लेक लागेर २ जिल्लामा २ वटा घटना भएका छन्। लेक लागेकै कारण एक जनाको मृत्यु भएको र एक जना घाइते भएको विवरण प्राप्त भएको छ। यसका साथै अविरल वर्षा, पहिरो, हावाहुरी र जनावर आक्रमणका घटनाहरू पनि दर्ता भएका छन्।
विपद्का यी घटनाहरूबाट ठुलो मात्रामा भौतिक तथा आर्थिक क्षति भएको छ। प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा करिब ३० लाख ८६ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ। यसै अवधिमा ३० वटा चौपायाको समेत क्षति भएको विवरणमा उल्लेख छ। उद्धार र राहतका लागि देशभर १७७ जना प्रहरी जनशक्ति परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
२०८२ वैशाख १ गतेदेखि चैत ७ गतेसम्मको समग्र तथ्याङ्क हेर्दा नेपालमा विपद्का घटनाहरू भयावह देखिएका छन्। यस अवधिमा कुल ७ हजार १४० वटा विपद्का घटनाहरू भएका छन्, जसमा परी ४७९ जनाले ज्यान गुमाएका छन्। तथ्याङ्कअनुसार ३८ जना अझै बेपत्ता छन् भने १ हजार ८७० जना घाइते भएका छन्।
यस अवधिमा कुल १२ हजार ९९४ परिवार विपद्का घटनाबाट प्रभावित भएको प्राधिकरणले बताएको छ। जसमध्ये आगलागीमा ३,४४३ घटना (१०२ जनाको मृत्यु), सर्पदंशमा ५९६ घटना (९८ जनाको मृत्यु), पहिरोमा ६०१ घटना (७४ जनाको मृत्यु), जनावर आक्रमणमा ४९५ घटना (५५ जनाको मृत्यु), चट्याङमा ३९३ घटना (४७ जनाको मृत्यु) र बाढीमा ३२० घटना (३८ जनाको मृत्यु) भएको छ।