काठमाडौँ । सुर्खेतकी इनिशा विकको सामूहिक बलात्कारपछि विभत्स हत्याको विरोधमा आज पनि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। अधिकारकर्मी र सर्वसाधारणको स्वःस्फूर्त सहभागितामा उक्त विरोध प्रदर्शन भएको हो।
प्रदर्शनका सहभागीहरूले दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न र मुलुकमा बढ्दै गएको महिला हिंसा अन्त्य गर्न माग गरेका छन्। उनीहरूले ‘इनिशालाई न्याय देउ’, ‘बलात्कारीलाई फाँसी देउ’, र ‘महिला सुरक्षाको ग्यारेन्टी गर’ जस्ता चर्का नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए।
प्रदर्शनमा सहभागी अधिकारकर्मीहरूले राज्यले महिला र बालबालिकाको सुरक्षामा संवेदनशीलता देखाउन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूले यस्ता जघन्य अपराधका घटना दोहोरिनुले कानुनी राज्यको उपहास भएको समेत बताए। घटनाको निष्पक्ष छानबिन गरी पीडित परिवारलाई अविलम्ब न्याय दिलाउन प्रदर्शनकारीहरूले सरकारसँग जोडदार माग गरेका छन्।