मिथिलाञ्चलमा चैती छठको उल्लास: 'नहा-खा' विधिबाट चार दिने अनुष्ठान शुरू
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
660
Shares
काठमाडौँ । महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रूपमा चैती छठ पर्व शुरू भएको छ। चार दिनसम्म विभिन्न धार्मिक विधिअनुसार मनाइने यो पर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा र पर्सालगायतका जिल्लाहरूमा धुमधामका साथ शुरू भएको हो।
विशेषगरी महोत्तरीको जलेश्वर, मटिहानी, गौशाला, बर्दिबासका पोखरी, तलाउ र बिग्ही, रातो मरहा जस्ता नदी किनारहरूमा छठ मनाउन श्रद्धालुहरूको घुइँचो लागेको छ। जलेश्वरनाथ महादेवका पुजारी कामेश्वर पाठकका अनुसार यो संसारकै यस्तो अनौठो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गरिन्छ। पारिवारिक सुख, शान्ति, समृद्धि र रोगमुक्तिको कामना गर्दै यो व्रत बस्ने गरिन्छ।
चैती छठको पहिलो दिन आज आइतबार व्रतीहरूले ‘नहा-खा’ अर्थात् स्नान गरी चोखो खानेकुरा खाएर जीउ चोख्याउने काम गरेका छन्। पर्वको दोस्रो दिन सोमबार ‘खर्ना’ मनाइने छ, जसमा व्रतीहरू दिनभर निराहार उपवास बसेर राति बिना नुनको अरवा अरबाईन खानेकुरा खाने छन्।
मङ्गलबार षष्ठीका दिन साँझ ठकुवा, भुसवा, खजुरिया जस्ता परम्परागत पकवान र विभिन्न फलफूलसहित जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ। त्यसको भोलिपल्ट अर्थात् बुधबार बिहान पुनः उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन हुने छ।
महाभारत कालमा द्रौपदीसहित पाण्डवहरूले आफ्नो अज्ञातवास सफल होस् भनी सूर्यको आराधना गरेको समयदेखि नै यो पर्व मनाउन थालिएको जनविश्वास छ। सूर्य पुराणका अनुसार सर्वप्रथम पत्नी अनुसुइयाले यो व्रत गरेकी थिइन्।
धार्मिक आस्थासँगै सामाजिक सद्भावको प्रतीक मानिने यो पर्व हिन्दूका साथै मुस्लिम समुदायले पनि मनाउने गरेका छन्। छठमा चढाइने प्रसादको सङ्ख्या ७० पुर्याउनुपर्ने मान्यता रहे पनि सामथ्र्य नहुनेहरूले गम्हरी धानको चामल मात्र चढाए पनि सूर्यदेव प्रसन्न हुने धार्मिक विश्वास रहेको पुजारी पाठकले बताए।