अस्पताल अब घरदैलोमै: झापामा 'जीवन रक्षा होम केयर' को लोभलाग्दो सेवा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
706
Shares
काठमाडौँ । उपचारका लागि बारम्बार अस्पताल धाइरहनुपर्ने झन्झट अन्त्य गर्दै बिरामीको घरमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा निकै लोकप्रिय बनेको छ।
बिर्तासिटी हस्पिटलको सघन उपचार कक्ष मा कार्यरत २७ वर्षीय डा. चेवनराज कार्कीले डेढ वर्षअघि आफ्ना साथीहरूसँग मिलेर यो सेवा सुरु गरेका हुन्। हाल झापाभर उपलब्ध यो सेवा कोशी प्रदेशका अन्य जिल्लाहरूमा पनि विस्तार हुने क्रममा छ।
अस्पताल जान नसक्ने वा डिस्चार्ज भएका बिरामीका लागि यस संस्थाले दुखाइ व्यवस्थापन , शल्यक्रियापछिको ड्रेसिङ, फिजियोथेरापी र स्लाइन चढाउनेसम्मका सेवा घरमै उपलब्ध गराउँदै आएको डा. कार्कीले बताए। विशेषगरी क्यान्सरका बिरामी र बुढेसकालमा एक्लै रहेका वृद्धवृद्धाका लागि यो सेवा वरदान सावित भएको छ।
होम केयरको टोलीमा १५ जनाभन्दा बढी अनुभवी नर्स, हेल्थ असिस्टेन्ट र चिकित्सकहरू प्रत्यक्ष रूपमा जोडिएका छन्। टोलीले घरमै पुगेर एम्बुलेन्स, अल्ट्रासाउन्ड, इसिजी जस्ता सेवा दिने मात्र नभई रगत, पिसाब र दिशाको नमूना सङ्कलन गरी रिपोर्ट समेत घरमै पुर्याउने गरेको छ।
डा. कार्कीका अनुसार, शल्यक्रियापछि घर फर्किएका बिरामीलाई सानो समस्या पर्दा पनि अस्पताल धाउन नपरोस् भन्ने हेतुले यो प्रयास थालिएको हो। वैदेशिक रोजगारीमा रहेका छोराछोरीका आमाबुबा बिरामी पर्दा कुरुवा बस्ने र अस्पताल लैजाने मान्छे नहुने समस्यालाई पनि यसले सम्बोधन गरेको अध्यापक आशीष शर्माले बताए।
होम केयरले व्यापारभन्दा बढी सामाजिक सेवालाई प्राथमिकता दिएको छ। सामान्य ड्रेसिङका लागि ३०० देखि ३५० रुपैयाँ र न्यूनतम 'डाक्टर भिजिट' शुल्कमा सेवा दिइरहेको संस्थाले वृद्धाश्रमहरूमा अझ सहुलियत दरमा सेवा पुर्याउने लक्ष्य राखेको छ।
विराटनगरमा सेवा विस्तार गरिसकेको यस संस्थाले चाँडै धरानमा पनि शाखा खोल्ने तयारी गरेको छ। पूर्वाञ्चल विश्वविद्यालयबाट एमबीए गरिरहेका डा. कार्कीले मोबाइल एपमार्फत ‘टेलिमेडिसिन’ सेवा र कारागारहरूमा स्वास्थ्य सेवा पुर्याउने योजना रहेको सुनाए।
स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप डा. कार्कीलाई हालै ‘पौरखी जेनजी सम्मान’ बाट विभूषित गरिएको छ। “अहिलेसम्मका काममा सबैको हौसला प्राप्त भइरहेको छ र भविष्यमा अझ परिष्कृत सेवाका साथ आउनेछौँ,” उनले भने।