काठमाडौँ । सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु भएको दुई साता बितिसक्दा पनि घटनाको वास्तविक तथ्य अझै बाहिर आउन सकेको छैन। इनिशाका परिवार र आफन्तले सामूहिक बलात्कार पछि हत्या गरिएको दाबी गर्दै न्यायको माग गरिरहेका छन् भने मृतकको शव अझै कर्णाली प्रादेशिक अस्पतालको शव गृहमा रहेको छ।
गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक जङ्गलमा इनिशा मृत अवस्थामा भेटिएकी थिइन्। उषा बाल वाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको पोस्टमार्टम रिपोर्टले बलात्कार पछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन मृतक र आरोपितहरूको मोबाइल तथा 'भजाइनल स्वाब' परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको छ।
अनुसन्धानलाई थप प्रभावकारी बनाउन नेपालगन्जबाट पोलिग्राफ टोली समेत खटाइएको छ। “आरोपितहरूले दिएको बयान सत्य हो या झुटो भन्ने कुरा पोलिग्राफ परीक्षणबाट खुल्नेछ,” एक अनुसन्धान अधिकारीले बताए। घटनाको गम्भीरतालाई हेर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पनि वीरेन्द्रनगर पुगेर प्रमाण सङ्कलन गरिरहेको छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा इनिशाका प्रेमी भनिएका १६ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरी 'जबरजस्ती करणी' र 'कर्तव्य ज्यान' सम्बन्धी मुद्दा दर्ता गरेको छ। पक्राउ परेका मुख्य आरोपित किशोरले आफूहरू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको र शारीरिक सम्बन्धका क्रममा रक्तस्राव भएर इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूलाई गुहारेको बयान दिएका छन्।
यद्यपि, अन्य अभियुक्तहरूले घटनामा आफ्नो संलग्नता इन्कार गरेका छन्। सिसिटिभी फुटेजमा भने बिहान ६ बजेतिर इनिशा र ती १६ वर्षीय किशोर मात्रै जङ्गलतर्फ गएको देखिएको प्रहरीले जनाएको छ।
दोषीलाई कडा कारबाही हुने ठोस वातावरण नबनेको भन्दै पीडित परिवारले दबाब बढाइरहेका छन्। फोरेन्सिक र टक्सिकोलोजी रिपोर्ट आएपछि मात्रै घटना सामूहिक बलात्कार हो वा अन्य भन्ने निष्कर्षमा पुग्न सकिने डीएसपी बुढथापाले बताए।