मिथिलाञ्चलमा चैती छठको रौनक: आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १० मंगलबार
606
Shares
काठमाडौँ । लोक आस्थाको महापर्व चैती छठ अन्तर्गत आज मुख्य दिन षष्ठी तिथिको साँझ मिथिलाञ्चलबासीले अस्ताउँदो सूर्यलाई अर्घ दिँदैछन्। महोत्तरीसहित नेपाल र भारतका मिथिला क्षेत्रमा गत आइतबारदेखि सुरु भएको यो चार दिने अनुष्ठान आज तेस्रो दिन विशेष उत्साहका साथ मनाइँदै छ।
पर्वको मुख्य दिन आज व्रतालुहरूले घरमा तयार पारेका ठेकुवा, भुसवा, खजुरीया जस्ता पकवानका साथै विभिन्न फलफूल, मुला, अदुवा र नरिवललाई ढाकी र नाङ्लोमा सजाएर जलाशयको किनार (छठ घाट) सम्म पुर्याउने छन्। साँझपख पवित्र जलाशयमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्दै अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्ने परम्परा छ।
जलेश्वरनाथ महादेवका पुजारी कामेश्वर पाठकका अनुसार सूर्य उपासनाको यो यस्तो अनुपम पद्धति हो, जसमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गरिन्छ। "यसले सत्य, अहिंसा र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्छ," जलेश्वर–८ का पण्डित अनिल पाठकले बताए।
पारिवारिक सुख, शान्ति, समृद्धि र रोगमुक्तिका लागि गरिने यो व्रतमा चढाइने सामग्रीको सङ्ख्या ७० पुर्याउनुपर्ने मान्यता भए पनि सामर्थ्य नहुनेले गम्हरी धानको चामल मात्र चढाउँदा पनि देवता प्रसन्न हुने जनविश्वास रहेको पण्डित पाठकले जानकारी दिए।
कुनै समय तराई–मधेसमा मात्र सीमित यो पर्व अहिले काठमाडौँ, पोखरा, नारायणगढ र धरान जस्ता प्रमुख सहरहरूमा पनि धूमधामका साथ मनाउन थालिएको छ। यो पर्वमा हिन्दूका साथै मुस्लिम समुदायको पनि सहभागिता रहने भएकाले यसलाई सामाजिक सद्भावको सेतुका रूपमा समेत लिइन्छ।
महाभारत कालमा द्रौपदीसहित पाण्डवहरूले आफ्नो अज्ञातवास सफल होस् भनी सूर्यको आराधना गरेको समयदेखि मिथिलामा यो पर्वको सुरुवात भएको मानिन्छ। अर्कोतर्फ, सूर्यपुराणका अनुसार अनुसूइयाले सर्वप्रथम यो व्रत गरी अटल सौभाग्य प्राप्त गरेको उल्लेख छ।
आइतबार ‘नहा खा’ र सोमबार ‘खरना’ विधि सम्पन्न गरेका व्रतालुहरूले भोलि (बुधबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो वर्षको चैती छठ विधिवत् रूपमा समापन गर्ने छन्।