arrow

बुटवल जेसीजको न्यूनीकरण प्रयासः स्तन, पाठेघर सर्भाइकल सम्बन्धी सचेतना

logo
नारायण वली,
प्रकाशित २०८२ चैत १० मंगलबार
jci butwal- cancer-programme-2.jpg

लुम्बिनी । नेपाल तथा विकशीत देशहरुमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर क्यान्सरको समस्या बढ्दै गएको पाइन्छ । स्वास्थ्य पहुँच चेतना नभएका कारण समयमै स्क्रिनिङ नगर्दा पाठेघरको मुखको क्यान्सरबाट बर्सेनि सयौँको संख्यामा नेपालमा महिलाहरुले अकालमै ज्यान गुमाउँदै आएका छन् ।

विश्व स्वास्थ्य संगठनको ग्लोबोक्यान २०२० को रिपोर्टअनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर १९.४ प्रतिशत र स्तन क्यान्सर १७.१ प्रतिशत दोस्रो स्थानमा पर्दछ, भने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययन अनुसार ग्रामीण क्षेत्रमा पाठेघरको मुखको क्यान्सर र सहरी क्षेत्रमा स्तन क्यान्सरको समस्या विकराल बन्दै गएको बेला बुटवल जेसीजको आयोजनामा पाठेघर र स्तन क्यान्सरबारे बुटवलमा सचेतना अभिमुखीकरण गरिएको छ । 

स्थानीय स्वास्थ्य संस्थाबाट महिलाहरुमा पाठेघर तथा स्तन क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवासम्बन्धि निर्देशिका २०७७ मा पाठेघर क्यान्सरको स्क्रिनिङ सेवाका लागि लक्षित समूह ३० देखि ६० वर्षका महिला भनिएको तर‚ पर्याप्त मात्रामा स्क्रिनिङ शिविरको आयोजना नभएको अवस्थामा जेसी बर्ष २०२६/०२७ का नवनिर्वाचित अध्यक्ष जेसी यदुमणि पोख्रेलको वार्षिक कार्ययोजना अनुसार युवा लक्षित कार्यक्रम अनुसार सिद्धार्थ गौतमबद्ध क्याम्पसमा अध्ययनरत अधिकांश अविवाहित र विवाहित गरी एक सय पचास जना महिलाहरुलाई लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल कन्सल्टेन्ट गाइनोक्लोजिष्ट डा.शिला ढकालबाट अभिमुखिकरण दिइएको छ । 

जेसीजका अध्यक्ष जेसी यदुमणि पोख्रेलले महिला सम्बन्धि पाठेघरको मुख र स्तन क्यान्सर जस्ता गम्भीर प्रकृतिको समस्या देखा पर्दै गएकोले समाजलाई सुसूतिच गरी न्यूनिकरण गर्न पछिल्लो सयम सरकारले पनि चासोका साथ हेरेको र थप दुरदराजसम्म सचेतना फैलाउन विभिन्न संघसंस्था, क्लव र जेसीजहरुको महत्वपूर्ण भूमिका हुुनुपर्ने बताए । उनले थपे, नेपालको भूगोललाई हेर्दा सरकारीस्तरबाट धेरै ठाउँहरुमा यस्ता खालका कार्यक्रमहरु नपुग्ने भएकाले नागरिकस्तरसम्म पुर्याउन संघसंस्थाहरुले लक्ष्य निर्धारण गर्नुपर्छ । 

विश्व स्वास्थ्य संगठनको २०२१ को एक रिपोर्टअनुसार सन् २०१९ मा १० मध्ये १ जनाभन्दा कम महिलाले पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गराएको देखिन्छ। नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ ले १५ देखि ४९ वर्ष उमेरका ४ प्रतिशत महिलालाई स्तन क्यान्सरको जाँच गरिएको जनाएको छ भने ६ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरेको उल्लेख छ । परिवार कल्याण महाशाखाका अनुसार महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण प्रतिशत केही वृद्धि भएको देखिए पनि सन्तोषजनक देखिँदैन । विश्वमा पाठेघर क्यान्सरबाट ज्यान गुमाउने ९० प्रतिशत गरिब तथा न्यून आय भएका देशका मानिसहरु रहेका छन् । धनी राष्ट्रहरुमा एचपीभीविरुद्धको खोपको उपलब्धता, स्क्रिनिङ र उपचारको पहुँच भएकाले मृत्युको दर कम रहेको पाइएको छ ।

सचेतना अभिमुखिकरण कार्यक्रममा बुटवल जेसीज बोर्ड अफ ट्रष्टिजका अध्यक्ष सिनेटर निर्मल प्रसाद लाकौल, सिद्दार्थ गौतमबुद्ध क्याम्पसका क्याम्पस प्रमुख तथा बुटवल जेसीजका पूर्व अध्यक्ष सिनेटर गोपाल प्रसाद चापागाईं, बुटवल जेसीज निवर्तमान अध्यक्ष जेसी मोहन न्यौपाने, पूर्व अध्यक्षद्धय सिनेटर मनोज भट्टराई,  हरि विक्रम कुँवर लगायतले बोल्दै नेपालमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ कार्यक्रमको दायरा प्रभावकारीरुपमा बढ्न नसकेक्नाले महिलाहरु आफ्नो पीडा दबाएर बस्न बाध्य भएको बताउँदै सचेतनामुखि जनचेतनाको खाँचो औंल्याए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ