प्यालेस्टिनी क्षेत्रमा ‘संगठित अपमान र नरसंहारको उपकरण’ प्रयोग: राष्ट्र संघको प्रतिवेदन सार्वजनिक
इजरायलद्वारा प्यालेस्टिनीहरूको अधिकार कुण्ठित गर्न अमानवीय प्रणालीको प्रयोग भएको फ्रान्सेस्का अल्बानीजको खुलासा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
1.9k
Shares
काठमाडौँ । संयुक्त राष्ट्र संघकी एक विशेषज्ञले इजरायलले प्यालेस्टिनीहरू विरुद्ध लामो समयदेखि व्यवस्थित र योजनाबद्ध रूपमा यातना दिँदै आएको र यो अहिले इजरायलको ‘राज्य सिद्धान्त’ बनेको दाबी गरेकी छन्। सन् १९६७ देखि इजरायलले ओगटेका प्यालेस्टिनी क्षेत्रहरूको मानव अधिकार अवस्थाबारे विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बानीजले संयुक्त राष्ट्र मानव अधिकार परिषदमा पेश गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ।
प्रतिवेदनका अनुसार प्यालेस्टिनीहरूमाथि भइरहेको यो व्यवस्थित यातना ‘ओगटिएको क्षेत्रमा चलिरहेको नरसंहारको एक परिभाषित उपकरण’ बनेको छ। अल्बानीजले इजरायलले उच्च राजनीतिक स्तरबाटै स्वीकृत प्राप्त ‘संगठित अपमान, पीडा र पतनको शासन’ सञ्चालन गरिरहेको आरोप लगाएकी छन्। प्यालेस्टिनीहरूलाई मानसिक रूपमा तोड्न र उनीहरूमाथि प्रभुत्व जमाउन यो प्रणालीलाई राज्यको नीतिकै रूपमा विकास गरिएको उनको भनाइ छ।
प्रतिवेदनमा अक्टोबर २०२३ देखि यातना प्रभावकारी रूपमा इजरायलको राज्य नीति बनेको र यसलाई सामाजिक तथा राजनीतिक रूपमा संरक्षण गरिएको उल्लेख छ। यातना विरुद्धको संयुक्त राष्ट्र संघको समितिले पनि गत नोभेम्बरमा इजरायलले ७ अक्टोबर २०२३ पछि यातना र दुव्र्यवहारको नीतिलाई गम्भीर रूपमा तीव्र पारेको भन्दै निन्दा गरेको थियो।
विशेष प्रतिवेदक अल्बानीजले इजरायललाई तुरुन्तै सबै प्रकारका यातना र दुव्र्यवहारका कार्यहरू बन्द गर्न आग्रह गरेकी छन्। साथै, उनले अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरू र मानवीय संस्थाहरूलाई प्रभावित क्षेत्रमा सहज पहुँच प्रदान गर्न र मानव अधिकार उल्लंघनमा जिम्मेवार व्यक्तिहरूमाथि जवाफदेहिता सुनिश्चित गर्न विश्व समुदायसँग माग गरेकी छन्।