प्रधानमन्त्री कप एनभिए भलिबल लिग वैशाख १० देखि काठमाडौँमा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १४ शनिबार
4.6k
Shares
काठमाडौँ । नेपाल भलिबल संघको आयोजनामा प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग आगामी वैशाख १० देखि १९ गतेसम्म काठमाडौँमा हुने भएको छ।
प्रतियोगितामा महिलातर्फ छ टोली र पुरुषतर्फ छ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
पुरुषतर्फ एनभिए च्याम्पियनसिपबाट छनोट भएका आठ टोली तथा महिलातर्फ छ टोली गरी कुल १४ टोली सहभागी रहने आयोजकले जनाएको छ।
पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब, खिल्जी युवा क्लब (लुम्बिनी), पश्चिम रुकुम भलिबल टिम, कोशी प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब सहभागी छन्।
महिलातर्फ न्यू डाइमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, एभरेष्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लब (नेपाली सेना) ले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा महिला र पुरुष दुवै विधाका विजेताले १० लाख रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ र तेस्रो हुने टोलीले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
साथै, दुवै विधाका सर्वोत्कृष्ट खेलाडीलाई समान ६० हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर तथा प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ पुरस्कार दिइनेछ।
काठमाडौँ उपत्यका बाहिरबाट आउने टोलीलाई बसोबास तथा खानाका लागि प्रतिव्यक्ति दैनिक एक हजार दुई सय रुपैयाँ र उपत्यकाभित्रका टोलीलाई तीन सय रुपैयाँ उपलब्ध गराइनेछ।
प्रतियोगितामा करिब एक करोड १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
आयोजकका अनुसार सहभागी टोलीहरूले अधिकतम तीन जना विदेशी खेलाडीसमेत समावेश गर्न पाउने व्यवस्था गरिएको छ।