काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद्का कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएका छन्।
आइतबार प्राधिकरणको निरीक्षण गर्दै उनले आगामी मनसुनमा विपद्कै कारण कसैको मृत्यु हुन नदिने गरी पूर्वतयारी बलियो बनाउन निर्देशन दिएका हुन्। विगतमा समयमै पूर्वतयारी र प्रतिकार्य हुन नसक्दा नागरिकले अकालमै ज्यान गुमाउनुपरेको भन्दै उनले अब त्यस्तो कमजोरी हुन नदिइने स्पष्ट पारे।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन गृहमन्त्री गुरुङले पाठ्यक्रममै व्यावहारिक शिक्षा समावेश गर्न शिक्षा मन्त्रालयमा प्रस्ताव पठाउन प्राधिकरणलाई भनेका छन्। नेपालमा भूकम्प र बाढीपहिरो जस्ता विपद् बारम्बार दोहोरिने भएकाले तयारीमा हुने ढिलाइ अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।
आफूसँग १० वर्षदेखि विपद् व्यवस्थापनको क्षेत्रमा काम गरेको अनुभव रहेको उल्लेख गर्दै उनले अब समस्याको ठोस समाधान निकाल्ने हैसियतमा पुगेको बताए।
कलेज तहसम्मै विपद् सम्बन्धी व्यावहारिक शिक्षा र प्राथमिक उपचारका कुरा पाठ्यक्रममा राख्न सके धेरैको ज्यान बचाउन सकिने उनको तर्क छ। यस्तै, मनसुन सुरु हुनुअघि नै सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीलाई जोखिमयुक्त क्षेत्रमा तालिम र अभ्याससहित 'अलर्ट' अवस्थामा खटाउन उनले निर्देशन दिएका छन्।