कडाई एसईई परीक्षामाः मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
1k
Shares
तस्बिर : फाइल
महेन्द्रनगर । मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले एसईई परीक्षा विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले यसको सञ्चालनमा कुनै किसिमको लापरबाही हुन नहुने बताएका छन् ।
शिक्षा तथा संस्कृति मन्त्रालय मधेस प्रदेशको आयोजनामा आज जनकपुरधाममा विद्यालय शिक्षा परीक्षा एसइई–२०८२ लाई व्यवस्थित, मर्यादित र निष्पक्ष रूपमा सञ्चालन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदेशस्तरीय समन्वय बैठकमा मन्त्री तिवारीले परीक्षा शान्त, व्यवस्थित र मर्यादित वातावरणमा सम्पन्न गराउन सबै सम्बन्धित निकायलाई जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिए ।
मन्त्री तिवारीले परीक्षालाई थप कडाइका साथ सञ्चालन गरिने स्पष्ट पार्दै परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण रूपमा निषेध गरिएको बताए ।
यदि कुनै परीक्षार्थीले मोबाइल साथमा ल्याएको पाइएमा सो मोबाइल जफत गरी नष्ट गरिने उनले बताए । उनले विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै कुनै पनि प्रकारको लापरबाही नगर्न आग्रह गर्दै नियमको पूर्ण पालना गर्न सबैसँग अपील गरे ।
मन्त्री तिवारीले परीक्षा केन्द्रहरूको सुरक्षा व्यवस्थापन, प्रश्नपत्रको गोपनीयता, नक्कल नियन्त्रण तथा अनुगमनलाई प्रभावकारी बनाउन विशेष जोड दिँदै सम्बन्धित जिल्ला प्रशासन, सुरक्षा निकाय र शिक्षा निकायबीच समन्वय मजबुत बनाउन आग्रह गरे ।
बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त प्रदेश सचिव दिलीपकुमार ठाकुर, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराल, शिक्षा विकास निर्देशनालय मधेस प्रदेशका निमित्त निर्देशक महेन्द्र महतोलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
त्यसैगरी राष्ट्रिय परीक्षा बोर्ड जनकपुरका प्रमुख दयाराम राई, शिक्षा विकास समन्वय इकाइ धनुषाका प्रमुख चेतकुमार पोखरेल, सप्तरीका प्रमुख शशिकुमार यादव, सिरहाका प्रमुख दीपकराज कलौनी तथा अन्य सम्बन्धित अधिकारीहरू उपस्थित थिए ।
बैठकले एसईई परीक्षा अवधिभर सुरक्षा व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने, परीक्षा केन्द्र वरपर निषेधित क्षेत्र कायम गर्ने, अनुगमन टोली परिचालन गर्ने, नकल नियन्त्रणमा कडाइ अपनाउने र परीक्षासम्बन्धी कुनै समस्या आए तत्काल समाधान गर्ने संयन्त्र सक्रिय राख्नेलगायतका निर्णय गरेको छ ।
प्रदेशभरका सबै जिल्लामा सम्बन्धित निकायबीच समन्वय गरी परीक्षा निष्पक्ष, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गराउन आवश्यक तयारी तीव्र पारिएको सो मन्त्रालयका उपसचिव उज्ज्वल पोखरेलले बताए ।