नेपाली कांग्रेस पार्टीभित्र केही साथीहरूले “आफ्ना नेता–कार्यकर्ता पक्राउ पर्दा बचाएन भने पार्टीमा को बस्छ ? भन्ने प्रश्न उठाइरहनुभएको छ। नेपाली कांग्रेसको इतिहास, विचार र मूल्य केवल व्यक्ति बचाउने होइन—विधिको शासन स्थापित गर्ने हो ।
नेपाली कांग्रेस सधैं सविधानन र कानूनको पक्षमा उभिएको पार्टी हो । जब कसैलाई कानूनी प्रक्रियाअनुसार अनुसन्धान वा कारबाही गरिन्छ, त्यसलाई अवरोध गर्नु हाम्रो अर्थात् नेपाली कांग्रेसको आदर्श र सिद्धान्त होइन ।
हामी न्याय प्रक्रियामा विश्वास गर्छौं, न कि शक्तिको दुरुपयोग गरेर कसैलाई जोगाउने संस्कारमा ।
पार्टी भनेको व्यक्ति बचाउने ढाल होइन, सत्य र न्यायको मार्गदर्शक हो। यदि हामी आफैँले कानून मान्दैनौं भने जनतासँग कसरी विश्वास माग्ने ?
नेपाली कांग्रेसको सन्देश स्पष्ट छ:
-विधिको शासन सर्वोपरि
-कानून सबैका लागि समान
-दोषी भए कारबाही, निर्दोष भए न्याय अनि सफाइ ।
यही मूल्य र मान्यताको निरन्तरताले मात्र नेपाली कांग्रेस पार्टीलाई बलियो बनाउँछ, न कि व्यक्तिवादले ।
आउनुहोस्, व्यक्तिगत भावनाभन्दा माथि उठेर पार्टीको मूल आदर्श र सिद्धान्त-सविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, न्याय र विधिको शासनलाई आत्मसात गरौँ ।
गगन र विश्व नै कांग्रेसका सारथि :
भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिता संविधान र गणतन्त्र आजको विशेष सन्दर्भ र प्रस्तुति केवल गगनकुमार थापाको समर्थनमात्र पनि होइन, नेपाली कांग्रेस भित्रको परिवर्तन ,रूपान्तरण र समयानुकूल सुधारको पक्षमा उठेको एउटा सशक्त आवाज हो अबको कांग्रेस गगन-विश्वको परिवेश ।
आजको यस सन्दर्भमा पनि केही नेताहरू बुझेर वा नबुझेर हो अझै यथास्थितिको खोलभित्र सुरक्षित हुन खोजिरहेका छन्,तर इतिहासले प्रमाणित गरी देखाइसकेको छ । परिवर्तनलाई रोक्नेहरू आफैँ समयसँगै पछाडि पर्दै जान्छन् र जाने नै छन् ।
गगन थापाको उदयले जसरी पुराना सोचलाई चुनौती दिएको थियो र दिएको छ, त्यस्तै सर्वोच्चको निर्णयले पनि सुधारको बाटो अझ स्पष्ट बनाएको छ ।
यसलाई व्यक्तिवादको आँखाले हेर्न पटक्कै हुँदैन, समय सापेक्ष परिवर्तनकारी संस्थागत रूपान्तरणको अवसरका रूपमा लिन अत्यन्तै जरुरी छ गगन विश्वको अगुवाइलाई ।
अबको प्रश्न गगन विश्वको मात्र होइन - समग्र कांग्रेस कस्तो बनाउने भन्ने हो ।
यदि हामी साँच्चै सबल, सशक्त, काविल, पारदर्शी, कार्यकर्ता प्रेमी र जनउत्तरदायी कांग्रेस चाहन्छौँ भने यथास्थितिवादको रक्षा मात्रै होइन, तपाईं हामी सबैले पूर्ण सुधारको यात्रामा साथ दिनुपर्छ । विधि जपधान र प्रजातान्त्रिक लोकतान्त्रको पक्षमा सधैँ उभिनु पर्छ । न्याय मर्न दिनु हुँदैन ।
समय फेरिएको छ, सोच पनि फेरिनै पर्छ । त्यसैले अब दायाँबायाँ नगरिकन गगन थापाकै नेतृत्वमा हृदयदेखिनै एकताबद्ध भएर पन्ध्रौँ महाअधिवेशनको लागि जुटौँ र वर्तमान सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध जनाउँदै प्रमुख प्रतिपक्षको भूमिकामा कार्यसम्पादनको स्तरलाई परिपक्व र जिम्मेवारपूर्ण तरिकाले निर्वाह गरौँ ।
गत भदौ २३ र २४ को अमानवीय नरसंहार र कहिल्यै र कुनै पनि परिवर्तनकारी आन्दोलनमा नजरसमेत नलगाइएका महत्वपूर्ण सार्वजनिक सम्पत्तिको ध्वस्त बनायी देश जलाउने योजनाकार आतंककारी आततायीहरूलाई कारबाही गर्न सशक्त आवाज बुलन्द गरौँ ।
भ्रष्ट र भ्रष्टाचारको अन्त्य गरौँ । राष्ट्र, जनता र प्रजातान्त्रिक लोकतान्त्रको रक्षा गरौँ । कानूनी राज्यको अनुभूत सबैलाई दिलाऊँ । रोइरहेको नेपाल आमालाई हसाऊँ । अब कोदे कांग्रेस - अर्थात् कोइराला देउवा अगुवाइको कांग्रेसले होइन, विशेष महाधिवेशन गरेर खरो उत्रिएको विग कांग्रेस विश्व - गगनको अगुवाइको कांग्रेसले मात्र संगठन, कार्यकर्ता र अबको राजनीतिक चुनौतीको नयाँ एजेन्डा, नयाँ दृष्टिकोणसहित सामना गर्न सक्दछ भन्ने आम बुझाइ र विश्वास रहेको पाइन्छ ।
अब नेपाली कांग्रेस - ( चौम) अर्थात् चौधौँ महाधिवेशन केन्द्रीय नेतृत्व र कार्यसमितिलाई नेपाली कांग्रेस - (विम) अर्थात् विशेष महाधिवेशनले विस्थापित गरेको तथ्यलाई सबैले स्वीकार गर्नु जरुरी देखिन्छ । (गिरी कांग्रेस पूर्व केन्द्रीय सदस्य तथा महासमिति सदस्य हुन्)