काठमाडौं । काँग्रेस निकटका कर्मचारीको संस्था नेपाल निजामती कर्मचारी युनियन संघको फाल्गुनमा हुने भनिएको निर्वाचन झण्डै एक महिना पछि सरेको छ । फाल्गुन २३ र २४ गते चितवनमा हुने भनिएको निर्वाचन तयारी नपुगेको भन्दै सारिएको संघले जनाएको छ ।
आईतबार राजधानीमा बसेको उपत्यकामा उपलब्ध केन्द्रीय समितिको बैठकले चैत १६,१७ र १८ गते चितवनमा निर्वाचन गर्ने निर्णय गरेको हो । फाल्गुन १५ गतेसम्म सबै जिल्लामा अधिवेशन गरिसक्ने पूर्व निर्धारित कार्यतालिका विपरित १३ वटा जिल्ला र १३ वटा विभागीय कार्यसमितिको अधिवेशन सम्पन्न भएको छैन । जसका कारण पनि निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्न नसकिएको संघका महासचिव जीतबहादुर मडैले जानकारी दिए ।
त्यस्तैगरी, अधिवेशनको लागि आर्थिक संकलन गर्न नसकिएको, महाधिवेशनका लागि आवश्यक व्यवस्थापकीय काम समयमा नै सम्पन्न नभएको र चैतको पहिलो साता महाधिवेशन गर्दा एसएलसी परीक्षाका कारण शिक्षा विभाग अन्तर्गतका कर्मचारीहरुको व्यस्तता हुने भएकोले चैतको दोस्रो साता राख्ने निर्णय गरिएको संघले जनाएको छ ।
यद्यपि निर्वाचन सार्ने विषयमा पनि संघको एक पक्षले भने असन्तुष्टि जनाउँदै आएको छ । निर्वाचन सारिएकोमा संघको उक्त असन्तुष्ट समूहले तोकिएकै मितिमा अधिवेशन गर्न संस्थापन पक्षसँग माग गरेको छ ।
कहाँ कहाँ हुन सकेन अधिवेशन ?
केन्द्रीय कार्यसमितिको पूर्व निर्धारित कार्यतालिका अनुसार चुनाव सम्पन्न हुन नसक्नेमा १३ जिल्ला तथा १३ वटा विभागीय कार्यसमितिहरु रहेका छन् । जस अन्तर्गत्का १३ जिल्लाहरुमा सप्तरी, रामेछाप, धनुषा महोत्तरी, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, पर्सा, रौतहट, मकवानपुर, नवलपरासी र हुम्ला रहेका छन् ।
त्यस्तै, विभागीय कार्यसमितिहरुमा महालेखा परीक्षकको कार्यालय, जनसंख्या तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, कृषि विकास मन्त्रालय, पशुपंक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सतर्कता केन्द्र, सहकारी तथा गरिबीनिवारण मन्त्रालय, सार्वजनिक खरीद अनुगमन कार्यालय, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रपति कार्यालय तथा उपराष्ट्रपतिको कार्यालयमा समेत अधिवेशन हुन सकेको छैन ।
आईतबारको बैठकले फाल्गुन मसान्तसम्म ती सबै कार्यालयहरुमा अधिवेशन गरिसक्नको लागि निर्देशन समेत दिने निर्णय गरेको जनाएको छ ।