arrow

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार गर्न कार्यदल गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
bipad-jokhim.jpg

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी वर्षका लागि ‘मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३’ निर्माणको प्रक्रिया थालनी गरेको छ। 

सम्भावित प्राकृतिक विपद्को प्रभावकारी सामना गर्दै धनजनको क्षति न्यूनीकरण गर्न प्राधिकरणको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख सहसचिव रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा १८ सदस्यीय कार्यदल गठन गरी काम अगाडि बढाइएको हो। 

प्राधिकरणका प्रवक्ता उपसचिव शान्ति महतले यस कार्यदलमा विपद् सम्बद्ध सङ्घीय मन्त्रालय, विभाग तथा प्राधिकरणका साथै तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी रहेको जानकारी दिएका छन्।

सङ्घ, प्रदेश, स्थानीय तह र साझेदार संस्थालगायत विपद्सँग सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई योजनाबद्ध ढङ्गले परिचालन गर्न यो कार्ययोजना कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ। 

कार्ययोजना निर्माणका सदस्य एवं उपसचिव रामकुमार केसीले सबै प्रतिनिधिहरूलाई आवश्यक सुझाव दिनका लागि एक हप्ताको समय दिइएको र सुझाव प्राप्त भएलगत्तै अर्को हप्ता कार्यदलको बैठक बस्ने तय भएको बताएका छन्। 

यसपटक समयमै कार्ययोजना निर्माण गरी कार्यान्वयनमा लैजाने तयारी प्राधिकरणको छ। हालै गृहमन्त्री सुदन गुरुङले प्राधिकरणको कार्यक्रममा समयमै प्रतिकार्य योजना निर्माण गरी विपद् व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएकाले पनि प्राधिकरणले यस कार्यलाई प्राथमिकतामा राखेर अघि बढाएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ