आजकाल मुलुकका कुरा गर्नेलाई ‘उग्र राष्ट्रवादी’को बिल्ला भिराइँदा मलाई भने विद्यार्थी कालका पाठ्यक्रम, पढेका पाठ्यपुस्तक, प्रयोग गरिएका कापी र बाउ, बाजे तथा अग्रजहरूले भनेका कुराहरू सम्झनामा आइरहन्छन्। ती यस प्रकार छन्:
१. पाठ्यक्रम ।
१.१ भारतवर्षको इतिहास।
१.२ भारतवर्षको भूगोल।
१.२.१ भूगोल अन्तर्गत परीक्षामा भारतको नक्सा ध्यानपूर्वक तयार गर्नुपर्ने प्रश्न अनिवार्य रूपमा हुन्थे ।
२. पढ्नुपर्ने अधिकांश पुस्तकहरू भारतीय लेखकहरूद्वारा लिखित हुन्थे।
३. लेख्ने कापीका पछिल्ला पृष्ठहरूमा “जन गण मन …” सम्बन्धी चित्र वा सामग्री रहने भएकाले हामीलाई भारतको राष्ट्रियगान कण्ठ हुन्थ्यो।
समग्रमा भन्नुपर्दा—विद्यार्थी कालमा हामीलाई नेपालको इतिहास के हो, नेपालको भूगोल के हो, नेपालको राष्ट्रिय गान के हो भन्नेबारे शून्य जानकारी थियो । तर “राजेन्द्र प्रसाद हमारा राष्ट्रपति है”, “जवाहरलाल नेहरू हमारा प्रधानमन्त्री है”, र “जन गण मन हमारा राष्ट्रिय गान है” भन्ने कुरा भने थाहा थियो।
हुँदा-हुँदा बाउ-बाजे र अग्रजहरूले यसो भन्ने गर्थे:
“बुझिस्, भारु चल्ने ठाउँमा (जस्तै पूर्वतर्फका केही क्षेत्रमा) भारु पाइने, र नेपाली चल्ने ठाउँमा नेपाली रुपैयाँ (मोरु) महिनावारी पाउने गरी नियुक्ति पाइन्थ्यो।”
पूर्वतर्फका केही जिल्लामा मन्त्री पुग्दा “चल चल रे नौजवान …” भन्ने गीतसहित सलामी भएको कुरा पनि सुनिएको थियो।
हाम्रो विद्यार्थी कालका यी अनुभवहरू र बाउ, बाजे र अग्रजले भनेका कुरा सम्झँदा आज हामी कहाँ आइपुगेका छौं भन्ने कुरा आफैंले विचार गर्नु पर्ला जस्तो लाग्छ।
विद्यालय स्तरमा मात्र होइन, महाविद्यालय र विश्वविद्यालय तहमा पढ्दा पनि हामीले पटना विश्वविद्यालयबाटको पाठ्यक्रम अन्तर्गतका प्रोज र पोइट्रि सङ्ग्रह, भारतको संविधान र अर्थशास्त्र पढ्नुपर्थ्यो । प्रयोग भएका धेरैजसो पुस्तकहरू भारतीय लेखकहरूले लेखेका थिए।
अर्थशास्त्र पढाउने गुरुले “भारतको अर्थतन्त्र मनसुनमा निर्भर छ, नेपालको पनि त्यही हो” भन्नुहुन्थ्यो—त्यो कुरा हिजै भने जस्तो लाग्छ।
आईएमा प्रचण्ड प्रधानद्वारा द्वारा लेखिएको नेपालको संविधान नामक सानो पुस्तक बाहेक यस संबन्धमा नेपालीले लेखिएको खासै सम्झना छैन।
स्नातक, स्नातकोत्तर तथा कानून पढ्दा पनि हामीले नेपालको संविधान र कानूनभन्दा भारतको संविधान र कानून नै बढी पढ्यौँ। नेपालको मुलुकी ऐनका पाँच भाग र कानून व्याख्या २०१० भन्दा बढी भारतको संविधान, हिन्दु कानून, मुस्लिम कानून र साक्षी प्रमाण ऐन पढिएको होला। सरकारी निकायले प्रकाशन गरेको नेपालको संविधान २०१९ भन्दा डी बसु द्वारा लिखित भारतको संविधानसम्बन्धी पुस्तक घरघरमा बढी थिए होलान् ।
अझ भन्नुपर्दा, हामीलाई भारत, बेलायत, फ्रान्स, संयुक्त राज्य अमेरिका, स्विट्जरल्याण्ड र सोभियत संघका संवैधानिक प्रावधानहरू नेपालको संविधानका प्रावधान भन्दा बढी थाहा हुन्थे—किनकि पाठ्यक्रम नै त्यस्तो थियो ।
फेशन, संगीत र चलचित्रको अवस्था सम्झँदा हिन्दुस्तानको प्रभाव रहेको संझना छ । ह्वारलाङ्गे पतलुङ–कमिज, लामो जुल्फी, चमेली वा तोरीको तेल लगाएर आफूलाई ‘सुकुल गुण्डा’ जस्तो बनाउने र “सर पे लाल टोपी…” जस्ता गीत गाएर पठ्ठा देखाउने चलन ब्याप्त थियो।
बाउ वा अभिभावकसँग अनुनय–विनय गरेर २५ पैसा पाए जनसेवा सिनेमा हलमा थर्ड क्लासको टिकट काटी भारतीय सिनेमा हेर्न पाउँदा ठूलो गौरव ठानिन्थ्यो। कहाँ नेपाली पोशाक र नेपाली गीतले त्यस्तो आकर्षण गर्नु !
इतिहास पढाउने गुरुले ल भन भन्थे— हुमायूँ कसका छोरा हुन् ? औरङ्गजेब को हुन् ? मुगलहरू कहाँबाट आए ? टिपु सुल्तान को हुन् ? अकबर र बीरबल बीच के थियो ? आदि।
सबै भन्न सक्दैनथ्यौँ। अनि हामीमध्ये कतिले पेटीको चुटाई पायौ, कति मुर्गा बन्यौं, कतिलाई स्टान्ड अप अन द बेन्च गराइयो। त्यसै क्रममा कुटाई/ चुटाई खाएको ढाडले बेला–बेला दुःख दिन्छ, निमोठिएको कान चर्किन छोडेको छैन, र मुर्गा भएको तिघ्रा अझै दुख्दैछ।
आज फर्केर हेर्दा लाग्छ—त्यो समयको पाठ्यक्रम, संस्कृति र परिवेशले हामीलाई धेरै हदसम्म दक्षिणतर्फ उन्मुख बनाएको थियो। यस्तो स्थितिबाट हामीलाई नेपालको संविधान, कानून, अर्थतन्त्र, नेपाली समाज, भाषा र संस्कृतिसँग चिनाउने सबै व्यक्तित्वहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु।