सदनको मर्यादा कायम राख्दै निष्पक्ष ढंगले काम गर्ने सभामुख अर्यालको बाचा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
809
Shares
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनको मर्यादा कायम राख्दै निष्पक्ष ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सभामुख निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान र कानूनको पालना गर्दै सबै सांसदहरूको सम्मान हुने वातावरण बनाउने बताए।
उनले आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने स्पष्ट पारे। उनले भने, “संविधान र कानून राम्रोसँग अध्ययन गरेको छु। त्यसलाई पालना गर्दै सबै माननीयज्यूहरूलाई सम्मान हुने गरी सदनको मर्यादा कायम राख्नेछु। निष्पक्ष भूमिका निर्वाह हुन्छ।”
सभामुख अर्यालले संविधान र कानूनी व्यवस्थाबारे आफू जानकार रहेको उल्लेख गर्दै संसदलाई सोहीअनुसार सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
उनी संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति थिए । उनी आइतबार सभामुख पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
सभामुख अर्यालले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।