काठमाडौँ । पाँच पटकका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि देउवा र उनकी धर्मपत्नी डा आरजू राणा देउवाविरुद्ध पक्राउ अनुमति मागेको थियो ।
सोही आधारमा जिल्ला अदालत काठमाडौँले देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति दिएको हो । हाल देउवा दम्पती हङकङमा रहेको छ ।
यसअघि गत फागुन १३ गते देउवा सिंगापुर गएका थिए भने आरजू भारत गएकी थिइन् । त्यसयता दुवै नेपाल फर्केका छैनन् । प्रतिनिधि सभाको निर्वाचनमा समेत उनीहरू विदेशमै थिए ।
गत चैत १३ मा गठित वालेन्द्र साह बालेनको नेतृत्वको नयाँ सरकारले पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पहिलो चरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वमन्त्री दीपक खड्का, व्यवसायी दीपक भट्ट, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र उनका छोरा शुलभ अग्रवालमाथि अनुसन्धान गरिरहेको छ ।
देउवा दम्पती गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा आफ्नै निवासमा पिटिएको थियो । सो क्रममा उनको निवास बूढानीलकण्ठबाट थुप्रै रुपैयाँ जलेको भिडियो सार्वजनिक भएको थियो ।
साथै जल्दै गरेका रुपैयाँ सर्वसाधारणले लगेका भिडियोसमेत सार्वजनिक भएका थिए ।