ब्वाँसो भागेपछि विद्यालय बन्द, तीन सय सुरक्षाकर्मी परिचालन
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
2k
Shares
काठमाडौँ । दक्षिण कोरियाको डेजिओनस्थित एक चिडियाखानाबाट भागेको ब्वाँसो अझै नियन्त्रणमा नआएपछि स्थानीय क्षेत्रमा सुरक्षा त्रास बढेको छ। सियोलबाट करिब १५० किलोमिटर दक्षिणमा रहेको डेजिओन सहरको एक थिम पार्कबाट बुधबार ३० किलोग्राम तौल भएको नर ब्वाँसो भागेको हो।
ब्वाँसो बस्ती क्षेत्रमा पुग्न सक्ने र जनधनको क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले सतर्कता अपनाएका छन्। सुरक्षा चिन्ताकै कारण नजिकैको डेजिओन सान्सियोङ प्राथमिक विद्यालय बिहीबार बन्द गरिएको छ। बालबालिकाहरूको सुरक्षालाई उच्च प्राथमिकता दिँदै विद्यालय सञ्चालन रोकिएको शिक्षा कार्यालयले जनाएको छ।
ब्वाँसोको खोजीका लागि प्रहरी, अग्निनियन्त्रक र सैन्य बलसहित ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। बिहानैदेखि ड्रोन क्यामेरा प्रयोग गरेर खोजी कार्य सुरु गरिए पनि लगातारको वर्षाका कारण अभियानमा केही अवरोध पुगेको अग्नि मुख्यालयका अधिकारीहरूले बताएका छन्। प्रारम्भिक अनुसन्धानका अनुसार ब्वाँसोले जमिन खनेर पर्खालमुनिबाट छिद्र बनाई भाग्न सफल भएको देखिएको छ।
स्थानीय सञ्चारमाध्यममा सार्वजनिक तस्बिरहरूमा ब्वाँसो सडकमा स्वतन्त्र रूपमा घुमिरहेको देखिएपछि सर्वसाधारणमा थप चिन्ता छाएको छ। यसअघि सन् २०२३ मा सियोलको चिडियाखानाबाट 'सेरो' नामक जेब्रा भागेर विश्वभर चर्चा बटुलेको थियो, जसलाई पछि सुरक्षित रूपमा नियन्त्रणमा लिइएको थियो। अहिले पनि अधिकारीहरूले ब्वाँसोलाई कुनै क्षति नपुर्याई जीवितै नियन्त्रणमा लिने लक्ष्यका साथ खोजी जारी राखेका छन् र स्थानीय बासिन्दालाई घरबाहिर निस्कँदा सावधानी अपनाउन आग्रह गरेका छन्।