कपिलवस्तुको बनकसवासामा बस दुर्घटना: २६ यात्रु घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
659
Shares
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति एउटा यात्रुबाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख ४३७३ नम्बरको बस राति अनियन्त्रित भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए।
दुर्घटना लगत्तै प्रहरी र स्थानीयको सहयोगमा घाइते यात्रुहरूको उद्धार गरिएको उनले बताए। प्रहरीका अनुसार घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा र ३ जनाको स्थानीय आधारभूत अस्पतालमा उपचार भइरहेको छ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बाँकी ६ जना घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको जानकारी दिए। बस के कारणले अनियन्त्रित भयो भन्नेबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए। राजमार्गमा रातिको समयमा हुने यस्ता दुर्घटनाले सडक सुरक्षामा थप चुनौती थपेको छ।