मध्यपूर्वको युद्धले विश्व आर्थिक वृद्धिमा गम्भीर असर पर्ने आईएमएफको चेतावनी
२५ देखि ६० अर्ब डलरसम्मको सहायता प्याकेज घोषणा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
1.7k
Shares
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने भन्दै गम्भीर चेतावनी दिएको छ। संस्थाका प्रमुखले युद्धपछि परिस्थिति पहिले जस्तो सहज रूपमा फर्किने सम्भावना नरहेको बताउँदै यसले विश्वभर दीर्घकालीन आर्थिक असर पार्ने उल्लेख गरेका छन्।
विशेषगरी ऊर्जा स्रोतको मूल्यमा भएको तीव्र वृद्धि, सडक र उद्योगजस्ता भौतिक संरचनामा पुगेको क्षति, आपूर्ति प्रणालीमा उत्पन्न अवरोध र बजारमा घट्दो विश्वासका कारण विश्व आर्थिक वृद्धिदरमा ठूलो धक्का लागेको छ। यस संस्थाका अनुसार युद्धमा संलग्न देशहरूको उत्पादन सुरुमा करिब ३ प्रतिशतले घट्छ र त्यसको प्रभाव लामो समयसम्म रहिरहन्छ।
युद्धबाट प्रभावित देशहरूलाई सहयोग गर्न तत्काल २० अर्बदेखि ५० अर्ब डलरसम्मको आर्थिक सहायता आवश्यक पर्ने आईएमएफले जनाएको छ। यसका साथै युद्धका कारण उत्पन्न खाद्य संकटले कम्तीमा ४५ लाख मानिस प्रभावित हुने देखिएको छ। विशेषगरी गरिब र ऊर्जा आयात गर्ने देशहरू यस संकटबाट सबैभन्दा बढी मारमा पर्नेछन्।
यसैबीच विश्व बैङ्कका अध्यक्षले विकासशील देशहरूलाई सहयोग गर्न छोटो समयमै २५ अर्ब डलर उपलब्ध गराउन सकिने प्रतिबद्धता व्यक्त गरेका छन्। दीर्घकालीन रूपमा भने ६० अर्ब डलरसम्म सहयोग गर्ने योजना विश्व बैङ्कको रहेको छ।
महत्त्वपूर्ण जलमार्गहरू अवरुद्ध भएपछि विश्व बजारमा तेल र ग्यासको आपूर्ति घटेको छ, जसका कारण विश्वव्यापी रूपमा मुद्रास्फीति बढ्ने निश्चित देखिएको छ। तेल र मलको मूल्य वृद्धिले खाद्यान्न उत्पादन महँगो भई गरिब देशहरूमा भोकमरीको जोखिम झन् बढ्ने चेतावनी दिइएको छ। अन्तर्राष्ट्रिय संस्थाहरूले यो संकट टार्न विश्व समुदायलाई एकजुट भएर काम गर्न आह्वान गरेका छन्।