सरकारको निर्णयप्रति जुनुको आपत्ति, बिना सोधपुछ बर्खास्तीलाई लिएर सुशासनमाथि प्रश्न [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २८ शनिबार
1k
Shares
काठमाडौँ । बर्खास्त भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहकी श्रीमती जुनु श्रेष्ठले सरकारको निर्णयप्रति आपत्ति जनाएकी छिन् । उनले आफूलाई कुनै जानकारी वा सोधखोज नगरी गरिएको बर्खास्तीलाई सुशासनको अभ्यास भन्न नमिल्ने टिप्पणी गरेकी छन् ।
श्रेष्ठले आफ्नो पृष्ठभूमि र योग्यताबारे समेत प्रश्न उठाइएको भन्दै विस्तृत धारणा सार्वजनिक गरेकी छिन् । उनले झण्डै सात मिनेट लामो भिडियोमार्फत आफ्नो शैक्षिक योग्यता, पेशागत अनुभव र स्वास्थ्य क्षेत्रसँगको संलग्नता प्रस्तुत गरेकी हुन् ।
उनका अनुसार उनी शिक्षण अस्पता, त्रिभुवन विश्वविद्यालयबाट अप्टोमेट्रीमा स्नातक अध्ययन गर्दा स्वर्ण पदक विजेता थिइन् । त्यसपछि उनले जनस्वास्थ्यमा स्नातकोत्तर अध्ययन पनि स्वर्ण पदकसहित पूरा गरेको उल्लेख गरेकी छिन् । साथै मातृ तथा बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य, तथा कोभिड-१९ सम्बन्धी परियोजनामा काम गरेको अनुभव रहेको उनले बताएकी छिन् ।
श्रेष्ठले सन् २०२० मा बेलायत सरकारको छात्रवृत्तिमा लन्डन स्कूल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स तथा लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा अध्ययन गरेको बताएकी छिन् । त्यहाँ उनले स्वास्थ्य नीति, योजना र वित्त विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेको उल्लेख छ ।
उनले थाइल्याण्डको स्वास्थ्य प्रणाली मूल्याङ्कनमा परामर्शदाताका रूपमा काम गरेको तथा अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोभिड-१९ सम्बन्धी अनुसन्धानमा संलग्न भएको दाबी गरेकी छिन् । साथै स्वास्थ्य बीमा सम्बन्धी अनुसन्धान आफ्ना दुवै स्नातकोत्तर थेसिसमा समावेश रहेको उनले बताएकी छन् ।
स्वास्थ्य बीमा बोर्डमा आफ्नो नियुक्ति २०८० मङ्सिरमा भएको उल्लेख गर्दै श्रेष्ठले शुरूमा आफूले अध्ययनअनुसार योगदान दिन सक्ने अपेक्षा गरेको बताएकी छिन् । तर पछि राजनीतिक परिस्थितिका कारण जटिलता आएको र आफू केही समय विदेशमा रहेकाले केही बैठकमा उपस्थित हुन नसकेको उनले स्पष्ट पारेकी छिन् ।
उनले शुरूका बैठकमा अनलाइनमार्फत सहभागी भएर राय दिएको, पछि प्राविधिक समस्याका कारण एक बैठकमा बोल्न नपाएको र अनुपस्थितिको जानकारी समयमै दिएको दाबी गरेकी छन् । तर इमेल संवाद पछि रोकिएको उनले उल्लेख गरेकी छिन् ।
नेपाल फर्किएपछि करिब १०० दिन नबित्दै पुनः काम निरन्तरता दिन इच्छा व्यक्त गरेको पनि उनले बताएकी छिन् । आफ्नो नाम बोर्ड सदस्यका रूपमा वेबसाइटमा कायम रहेको देखेपछि योगदान दिन सकिने अपेक्षासहित रुची देखाएको उनको भनाइ छ ।
श्रेष्ठले आफू हाल विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको स्टेयरिङ कमिटी सदस्य रहेको र विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य मञ्चमा सक्रिय रहेको पनि बताएकी छिन् ।
अन्त्यमा उनले बिना कुनै स्पष्टीकरण र सोधपुछ पदमुक्त गरिनु दुःखद भएको भन्दै यदि यसैलाई सुशासन भनिन्छ भने सुशासनको अर्थबारे पुनः सोच्नुपर्ने अवस्था आएको टिप्पणी गरेकी छिन् । साथै आफ्नो पतिलाई यस घटनासँग जोडिनु अनुचित भएको पनि उनको भनाइ छ ।
उनको सुशासनको यो प्रश्नले रास्वपा सभापति रवि लामिछानेको सोचमाथि पनि प्रश्न खडा गरेको छ । त्यतिमात्र होइन महिलालाई कमजोर ठान्ने सिंगो मुलुकले पनि सोच्नुपर्ने भएको छ ।