arrow

एक वर्षमा साढे सात हजार विपद्का घटना: आगलागी र डढेलोबाट ठूलो धनजनको क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २९ आइतबार
bipad-jokhim.jpg

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगत एक वर्षको अवधिमा नेपालमा कुल सात हजार ६४८ वटा विपद्का घटना भएका छन्, जसमा आगलागी र डढेलोसँग जोडिएका घटनाको सङ्ख्या सबैभन्दा बढी देखिएको छ। 

प्राधिकरणको तथ्याङ्कअनुसार गत २०८२ वैशाख १ गतेदेखि यही चैत २७ गतेसम्म देशभर तीन हजार ७२० वटा आगलागीका घटना भएका छन् भने यी घटनामा परेर १०५ जनाले ज्यान गुमाएका छन्। यसैगरी आगलागीबाट ५७१ जना घाइते भएका छन् भने चार हजार २६० परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। सोही अवधिमा डढेलोका ३२८ वटा घटनामा दुई जनाको मृत्यु हुनुका साथै ५८ परिवार प्रभावित भएको तथ्याङ्कले देखाएको छ।

ठूलो मात्रामा जनधनको क्षति हुनुका पछाडि सावधानी र जनचेतनाको अभाव तथा वन जङ्गल एवं सुकेका सामग्रीमा आगो लगाउने मानवीय प्रवृत्ति मुख्य रूपमा जिम्मेवार रहेको प्राधिकरणको ठम्याइ छ। पछिल्लो २४ घण्टाको विवरण हेर्दा पनि देशभर भएका १९ विपद्का घटनामध्ये १६ वटा आगलागीकै रहेकाले सुक्खा मौसममा थप सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको छ। 

प्राधिकरणले आगलागीबाट जोगिन ज्वलनशील पदार्थलाई सुरक्षित स्थानमा राख्न र विशेष सचेतना अभियान सञ्चालन गर्न सबैमा अनुरोध गरेको छ। हालको सुक्खा मौसमलाई मध्यनजर गर्दै वन तथा वातावरण मन्त्रालयले पनि डढेलो तथा आगलागी नियन्त्रणका लागि आफ्ना मातहतका निकायहरूलाई सक्रिय रूपमा परिचालन गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ