arrow

सिँचाइ अभावले कञ्चनपुरमा घट्दै चैते धान खेती

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३० सोमबार
chaite-dhan-82-11-28 (3).jpg

काठमाडौँ । कञ्चनपुरमा चैते धान खेती गर्ने किसानको सङ्ख्यामा उल्लेख्य गिरावट आएको छ। केही वर्षअघिसम्म ४०० हेक्टर क्षेत्रफलमा हुने गरेको यो खेती अहिले घटेर १५० हेक्टरमा मात्र सीमित हुन पुगेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ।

चैते धानका लागि अन्य धानको तुलनामा बढी पानी आवश्यक पर्छ। तर, जिल्लामा सिँचाइ सुविधा पर्याप्त नहुँदा किसानहरू यो खेतीबाट विमुख हुन थालेका हुन्। कृषि ज्ञान केन्द्रका सहायक बाली विकास अधिकृत धर्मबहादुर साउँदका अनुसार ५० प्रतिशत अनुदानमा बोरिङ र उपकरण उपलब्ध गराए पनि त्यो पर्याप्त हुन सकेको छैन। "महाकाली सिँचाइ नहरमा नियमित पानी नआउँदा र बोरिङको पानीले मात्र धानलाई नपुग्दा खेती घट्दै गएको हो," अधिकृत साउँदले बताए।

जिल्लाको बेल्डाँडी, जुन चैते धानका लागि प्रख्यात थियो, त्यहाँ अहिले खेती हुन छाडेको छ। स्थानीय किसान तीर्थ राना भन्छन्, "उत्पादन त धेरै हुन्छ तर सिँचाइकै समस्या छ। महाकाली नहरमा चाहिएको बेला पानी आउँदैन, बोरिङले मात्र धान तिर्खाउँछ।" अर्का किसान दिनेश चौधरीले पनि सिँचाइ अभावकै कारण खेत बाँझो राख्नुपरेको बताए।

कञ्चनपुरमा कुल एक लाख ६१ हजार ७४१ हेक्टर खेतीयोग्य जमिन रहेकोमा ५९ हजार ६०२ हेक्टर (३६ प्रतिशत) मा मात्र खेती हुने गरेको छ। त्यसमध्ये पनि केवल २९ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको छ।

हाल महाकाली सिँचाइ आयोजनाको पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ। यसबाट भीमदत्त, बेदकोट र बेलडाँडी क्षेत्र समेटिए पनि नियमित पानीको अभावले चैते धान प्रवर्द्धन गर्ने सरकारी लक्ष्य र किसानको उत्साह दुवैमा धक्का पुगेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि कञ्चनपुरमा लक्ष्यअनुसार धान खेती हुन नसकेको स्वीकार गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ