अस्पतालमा ‘नगदी स्वास्थ्य लाभ कार्ड’ अभियान, मानवीय सम्बन्धमा नयाँ आयाम
नारायण वली,
प्रकाशित २०८२ चैत ३० सोमबार
1.1k
Shares
लुम्बिनी । नेपाली समाजमा अस्पतालमा भर्ना भएका बिरामी भेट्न जाँदा फलफूल, जुस वा बिस्कुट लैजाने परम्परा वर्षौंदेखि चल्दै आएको छ । बिरामी भेट्दा फलफूल लैजाने परम्परागत शैलीलाई चिर्दै'उपचारमा सहयोग'को सन्देश फैलाउने उद्देश्य अनुरुप पछिल्लो समय बुटवलका सामाजिक अभियन्ता मुक्तिराज पौडेलको अगुवाइमा एउटा फरक र सान्दर्भिक अभियानले चर्चा पाएको छ-नगदी अभियान, स्वास्थ्य लाभ कार्ड ।
अभियानले यसअघि बिरामी भेट्न जाने परम्परागत शैलीलाई रुपान्तरण गर्दै बिरामीलाई वास्तवमै आवश्यक पर्ने आर्थिक सहयोग तर्फ समाजको ध्यान केन्द्रित गर्ने देखिएको छ ।
अभियन्ता पौडेलले केही वर्षअघि बुटवलमा शुरू गरेको यो 'नगदी खाम अभियान' अहिले धेरैका लागि अनुकरणीय बनेको छ । बिरामीको स्वास्थ्यभन्दा पनि औपचारिकता र देखावटीपनमा सीमित हुने भेटघाटलाई यो अभियानले गम्भीर अर्थतन्त्र र मानवीय संवेदनासँग जोडिदिएको छ ।
पौडेलले चलाएको यो अभियानले अस्पतालमा बिरामी भेट्न जाँदा परम्परागत रुपमा फलफूल लगायत खाने वस्तु लैजाने संस्कृतिलाई चुनौती दिँदै एउटा फरक र रचनात्मक अभियानको रुपमा सान्दर्भिक बन्नुको साथै बिरामीलाई फलफूल होइन, नगदी खाम । यो अभियानले अस्पतालको वार्डहरुमा थुप्रिने फोहोर र बिरामीको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्दै मानवीय र आर्थिक सहायताको नयाँ खाका तयार पार्ने देखिएको छ ।
अस्पतालमा बिरामी भेट्न जाँदा फलफूल होइन, नगद खाम दिने अभियानका सामाजिक अभियन्ता मुक्तिराज पौडेल भन्छन्,"अस्पतालमा पैसा नभएर बिरामीको उपचार रोकिनु हुँदैन," सानो-सानो सहयोगले कसैको जीवन बच्छ भने त्यो नै वास्तविक सामाजिक सेवा हो । यस अभियानको मुख्य उद्देश्य बिरामीलाई प्रत्यक्ष, व्यावहारिक र आवश्यक सहयोग पुर्याउनुको साथै समाजमा सहयोग गर्ने संस्कारलाई नयाँ ढंगले स्थापित गर्नु हो ।
बिरामी हुनु कसैको रहर नभई बाध्यता भएको उल्लेख गर्दै आजको महंगो स्वास्थ्य प्रणालीका कारण सामान्य नागरिकका लागि उपचार निकै चुनौतीपूर्ण बन्दै गएको बेला आफुले उठान गरेको विषयमा केवल प्रशंसा गरेर होइन, त्यसमा सहभागी भएर अघि बढ्नु नै साँचो समर्थन हुने उनले बताए ।
उनले अगाडि थपे, “लाज नमानी सहयोग हस्तान्तरण र ग्रहण गरौं” भन्ने सन्देश दिँदै हामीले गरेका प्रयासले नै समाजमा ठूलो परिवर्तन ल्याउन सक्छन् । त्यसैले अब हामी सबैले मिलेर अस्पतालमा बिरामी भेट्न जाँदा नगद खाम दिने संस्कारलाई सामान्य बनाउँदै, सहयोग, सहकार्य र मानवीयताको नयाँ उदाहरण स्थापना गर्न आवश्यक छ ।''
पहिलो पाइला नेपाल रुपन्देही शाखा अध्यक्ष गोमा भट्टराईले पनि यस अभियानप्रति आफ्नो दृढ प्रतिबद्धता व्यक्त गर्दै यस्तो अभियानले बिरामीलाई वास्तविक सहयोग पुर्याउनुका साथै समाजमा आपसी सहयोग, विश्वास र भावनात्मक एकता बलियो बनाउने बताइन् । उनका अनुसार कठिन अवस्थामा गरिने सानो सहयोगले पनि मानिस-मानिसबीचको सम्बन्धलाई अझ नजिक र अर्थपूर्ण बनाउने विश्वास व्यक्त गरिन् ।
अस्पतालमा फलफूलको सट्टा नगद खाम दिने बुटवलका युवा अभियन्ता मुक्तिराज पौडेलले चलाएको यो अभियानले केवल पैसा मात्र होइन, कठीन परिस्थितिमा साथ दिने भावनालाई प्रबर्द्धन गर्दछ । बिरामी र तिनका आफन्तले आफूहरु एक्लो छैनौँ भन्ने अनुभूति गर्छन्, जसले मनोबल बढाउँछ । यस्ता अभियानले हाम्रो सामाजिक संस्कारमा सकारात्मक परिवर्तन, ‘सहकार्य’ को भावना र बिरामीको पीडामा मलहम लगाउने र युवा पुस्ता केवल सामाजिक सञ्जालमा सीमित नभई, यस्ता रचनात्मक र मानवीय कार्यमा सक्रिय हुनुले सकारात्मक सन्देश दिने नेपाल स्वयंसेवी रक्तदाता समाज नेपाल रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री बताउँछन् ।
बुटवलका युवाले शुरुवात गरेको 'नगदी स्वास्थ्य लाभ कार्ड' अभियानमुखी प्रयासले देखावटी संस्कृतिलाई विस्थापित गरी मानवीय सेवाको व्यावहारिक पक्षलाई अगाडि बढाउने र यो प्रयासले अन्य शहरहरुका लागि पनि अनुकरणीय उदाहरण प्रस्तुत गर्न सक्छ,आर्थिक रुपले कमजोर बिरामीहरुका लागि राहतसँगै समाजमा एकअर्काप्रतिको जिम्मेवारी र आत्मीयतालाई अझ मजबुत बनाउने मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका पूर्वअध्यक्ष कृष्ण भट्टराईको भनाई छ ।
अभियानको सान्दर्भिकताः फलफूल भन्दा किन नगद खाम ?
बिरामी भेट्न जाँदा नगद सहायताले बिरामीलाई आफ्नो आवश्यकता (जस्तैः पौष्टिक खाना, औषधी, वा कुरुवाको खर्च) आफैं छनोट गर्ने मौका दिन्छ, जसले बिरामीको आत्मसम्मान बढाउँछ । सयौं रुपैयाँको स्याउ वा अंगुर लिनुको सट्टा त्यही रकम खाममा राखेर दिँदा बिरामीलाई प्रत्यक्ष राहत मिल्छ ।
अस्पतालमा बिरामीलाई फलफूल भन्दा पनि औषधी, प्रयोगशाला खर्च, र शल्यक्रिया खर्चको बोझ बढी हुन्छ । नगद सहायताले बिरामीलाई आफ्नो प्राथमिकता अनुसार खर्च सदुपयोग हुने र बिरामीसँगै बस्ने कुरुवाको लागि खाना, बस्न र अन्य अत्यावश्यक सानातिना खर्चको लागि नगद तुरुन्तै काम लाग्दछ ।
अस्पतालमा भेट्न आउनेहरुले फलफूल ल्याउँदा बिरामीले खान नसकेर कुहिने हुन्छ, नगद खामले फलफूलका कारण फोहोर हुने अस्पताल परिसरलाई पनि स्वच्छ राख्न मद्दत गर्दछ ।
एक अभियान, प्रेरणादायी पक्ष
यस अभियानलाई प्रोत्साहन गर्ने व्यक्तिहरुले फलफूलले बिरामी निको हुँदैन, तर समयमा औषधी र पौष्टिक खानाले हुन्छ भन्ने मूल नारा अघि सारेका छन् । यो अभियानले बिरामी भेट्ने संस्कृतिलाई 'औपचारिकताबाट सार्थकता' तर्फ मोडेको छ । नगदी खाम दिने अभियानले समाजको परम्परागत सहयोग गर्ने शैलीलाई आधुनिक, मानवीय र बढी अर्थपूर्ण बनाउने अपेक्षा गरिएको छ ।