नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैङ्क
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २ बुधबार
453
Shares
काठमाडौँ। नबिल बैङ्क लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशकदेखिका आफ्ना लक्ष्य, उद्देश्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेको छ। यी पुनर्परिभाषित उद्देश्यले विश्वास, उत्थानशीलता र तयारीप्रति बैङ्कको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको बैङ्कले जनाएको छ।
नबिल बैङ्कले ‘नेपालको सबैभन्दा विश्वासिलो एवम् भरपर्दो र भविष्यका लागि तयार बैङ्क बन्ने’ उद्देश्य लिएको छ।
‘विश्व स्तरीय नेपाली बैङ्क बन्ने ध्येयका साथ, उद्देश्यबाट प्रेरित, विश्वास, अनुशासन र अनुपालनमा आधारित, नवीनताद्वारा सञ्चालित, सुशासन, वातावरणीय, सामाजिक र प्रशासनिक दायित्वले निर्देशित र भविष्यका लागि तयार नेतृत्वको सिर्जना गर्दै, सेवाग्राहीलाई प्राथमिकता दिँदै उत्कृष्टता प्रदान गर्न प्रतिबद्ध,’ बैङ्कको पुनर्परिभाषित लक्ष्य रहेको छ।
बैङ्किङ प्रणाली द्रुत गतिमा परिवर्तन भइरहेको समयमा दीर्घकालीन मार्गचित्रको आवश्यकता महसुस गर्दै बैङ्क रूपान्तरणको बाटोमा अग्रसर भएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए।
'सेवाग्राही केन्द्रित विश्वस्तरको नेपाली बैङ्क बन्ने उद्देश्यका साथ हामीले बैङ्कको उद्देश्य, लक्ष्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेका छौँ,’ ज्ञवालीले भने। रूपान्तरित मूल्यमान्यतामा सेवाको उत्कृष्टतालाई मानकका रूपमा लिएको बताउँदै उनले भने, 'डिजिटल माध्यमलाई प्राथमिकता दिँदै, मानव स्रोत र नेतृत्व विकासमा निरन्तर लगानी गर्दै जबाफदेहिता र सहकार्यको बलियो संस्कृतिलाई बढवा दिनेछौँ।’
बैङ्कले आफ्ना मूल्यमान्यतालाई पाँच ‘टी’ का स्तम्भमार्फत अभिव्यक्त गरेको छ– विश्वास, पारदर्शिता, प्रतिभा, प्रविधि र रूपान्तरण। यी मूल्यमान्यता पञ्च तत्त्व दर्शनमा आधारित भएको उल्लेख गर्दै बैङ्कले धरतीले विश्वासलाई, पानीले पारदर्शितालाई, आगोले प्रतिभालाई, वायुले प्रविधिलाई र आकाशले रूपान्तरणलाई प्रतिनिधित्व गरेको बताएको छ। यी तत्त्व मिलेर बैङ्कको संस्कृति, निर्णय प्रक्रिया र दीर्घकालीन विकासलाई निर्देशित गर्ने सन्तुलित र एकीकृत संरचना प्रदान गर्ने बैङ्कले विश्वास लिएको छ।
ग्राहकको बदलिँदो अपेक्षा, डिजिटल प्रविधिको विकास, कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को बढ्दो भूमिका, दिगोपनालगायत आवश्यकताका आधारमा आफूलाई परिमार्जित गर्न लागेको बैङ्कको भनाइ छ।
गुणस्तरीय बैङ्किङ सेवामा सबै पुस्तालाई समेट्ने उद्देश्यका साथ बैङ्कले आफ्नो स्लोगनलाई ‘सँधैं सँगै अघि’ बनाएको छ।
उत्थानशीलता, प्रशासनिक अनुशासन र न्यायसङ्गत विकास आफ्नो प्रतिबद्धता रहेको जनाउँदै बैङ्कले आफ्ना सेवाग्राही, सरोकारवाला र बृहत्तर समुदायप्रतिको जिम्मेवारी रहेको पनि जनाएको छ।
नबिल बैङ्कले देशभर २६८ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। बैङ्कले २५ लाखभन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सधैँ सँगै अघि बढ्ने विश्वास राखेको छ।