काठमाडौँ । आमाको मुख हेर्ने औँसी (मातृऔँसी) को अवसरमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थमा दिवङ्गत आमाको सम्झनामा तर्पण, श्राद्ध र पूजा गर्ने श्रद्धालुहरूको ठूलो भीड लागेको छ। बिहान ३:०० बजेदेखि नै कुण्डमा स्नान गर्ने, दान दिने र श्राद्ध गर्ने भक्तजनहरूको घुइँचो बढेको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिए।
विशेष गरी आमा नहुनेहरूले आजको दिन मातातीर्थ कुण्डमा स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गरेमा दिवङ्गत आमाको आत्माले शान्ति पाउने धार्मिक जनविश्वास रहेको छ। मेला भर्न आउनेहरूले कुण्डमा आफ्नो आमाको आकृति हेर्ने प्रयास गर्ने र मीठा खाद्यपदार्थहरू चढाएर मातृदिवस मनाउने गर्दछन्।
तीर्थ परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित 'साझा आमा' को मूर्ति पनि स्थापना गरिएको छ, जसलाई सबैकी आमाको प्रतीकका रूपमा सम्मान गरिन्छ। मेलालाई व्यवस्थित बनाउन मातातीर्थ मेला व्यवस्थापन समिति र विभिन्न स्थानीय सामाजिक संस्थाहरू सक्रिय रूपमा परिचालन भएका छन्।