सिरहामा हावाहुरीको वितण्डा: घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ६ आइतबार
609
Shares
तस्बिर फाइल
काठमाडौँ । शनिबार साँझ आएको विनाशकारी हावाहुरीका कारण सिरहामा घरको पर्खाल भत्किँदा एक वृद्धाको ज्यान गएको छ। मृत्यु हुनेमा सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुरकी ६० वर्षीया किसुनवती यादव रहेकी छन्।
स्थानीय विन्देश्वर यादवकी श्रीमती किसुनवती शनिबार साँझ घरमै बसिरहेको बेला तीव्र गतिको हावाहुरीले घरको जस्तापाता उडाएको थियो। जस्तापाता उडेलगत्तै घरको पर्खाल भत्किँदा इँटाले टाउकोमा लागेर उनी गम्भीर घाइते भएकी थिइन्। टाउकोमा लागेको गहिरो चोटका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई परीक्षणका लागि पठाएको छ। गए राति मधेस प्रदेशका विभिन्न जिल्लामा आएको हावाहुरीले जनजीवन नराम्ररी प्रभावित बनाएको छ। हावाहुरीले पुर्याएको अन्य भौतिक क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।