arrow

बागमती र लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

विधेयक र प्रतिवेदनमाथि हुनेछ छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ६ आइतबार
bagmati-province-new.jpg

काठमाडौँ । बागमती र लुम्बिनी प्रदेशसभाका बैठकहरू आज फरक-फरक समयमा बस्ने तयारीमा रहेका छन्। बागमती प्रदेशसभाको बैठक बिहान ११:०० बजेका लागि तय गरिएको छ भने लुम्बिनी प्रदेशसभाको बैठक अपराह्न १:०० बजे बस्ने सम्भावित कार्यसूची रहेको छ। 

बागमती प्रदेशसभाको बैठकमा मुख्य गरी विभिन्न विधेयकहरूको सैद्धान्तिक पक्षमा छलफल गर्ने र तिनलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने तयारी गरिएको छ। प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार यसअघि गत चैत २५ र २६ गतेको बैठकमा प्रस्तुत भई सामान्य छलफल भइसकेका ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ र ‘प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ लाई आज दफावार छलफलका लागि समितिमा पठाइनेछ। ती समितिहरूबाट प्राप्त सुझावका आधारमा छुट्टाछुट्टै प्रतिवेदन तयार पार्ने लक्ष्य राखिएको छ।

यसैगरी लुम्बिनी प्रदेशसभाको बैठकका लागि सचिवालयले तीनवटा मुख्य कार्यसूची तय गरेको छ। बैठकको सुरुमा प्रदेशसभा सदस्यहरूले समसामयिक र जनचासोका विषयमा आ-आफ्नो धारणा राख्नका लागि विशेष समय छुट्याइएको छ। 

त्यसपछि उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’ लाई थप छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। साथै, आजको बैठकमा प्रदेश मामिला तथा कानुन समितिकी सभापति दिल कुमारी बुढाले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची समेत रहेको छ। दुवै प्रदेशका यी बैठकहरूले महत्वपूर्ण कानुनी र साङ्गठनिक प्रक्रियाहरूलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ