काठमाडौँ । रुवाण्डामा भइरहेको पहिलो संस्करणको आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेटको दोस्रो खेलमा नेपाललले सफलता हासिल गरेको छ । शनिबारदेखि रुवाण्डा क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले पहिलो जित हासिल गर्ने क्रममा इटालीलाई ५० रनले पराजित गरेको हो ।
नेपालले जितका लागि दिएको ११३ रनको लक्ष्य पछ्याएको इटालीले १८.४ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमा समेटियो । इटालीका लागि दुई ब्याटर बाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । इटालीका चथुरिका महामालागेले २२ रन तथा पासिन्दी कनन्केगेले १२ रन जोडिन् ।
बलिङतर्फ नेपालका लागि रुबिना क्षेत्रीले २.४ ओभरमा १ मेडन राख्दै चार रन खर्चेर चार विकेट लिइन् । त्यस्तै कविता कुँवरले २ तथा मनिषा उपाध्याय, रिया शर्मा र रचना चौधरीले एक/एक विकेट लिइन् ।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११२ रनको योगफल बनायो । नेपालका लागि उपकप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन् । उनले ४५ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरिन् । त्यस्तै सम्झना खड्काले १६, बिन्दु रावलले १५ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् ।
बलिङतर्फ इटालीकी एमिलिया बाट्र्रामले तीन विकेट लिइन् । शनिबार भएको पहिलो खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको थियो । इटालीले भने पहिलो खेलमा घरेलु टोली रुवाण्डालाई पराजित गरेको थियो ।