अर्जुन कुलुङ र आङ फुर्बालाई मञ्जुश्री ट्रेल रेसको उपाधि
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
2.2k
Shares
काठमाडौँ । नेपालको चर्चित रेसमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटीआर) को छैटौँ संस्करणको उपाधि अर्जुन कुलुङ राईले जितेका छन् । मञ्जुश्री ट्रेलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा ३७ मिनेट ४९ सकेन्ड समय लगाएर सबभन्दा चाँडै पार गरेका हुन् ।
नेपालकै मिलन कुलुङ राईले २७ घन्टा ५ मिनेट १८ सकेन्ड समय लगातार दोस्रो स्थान हासिल गरे । विजय राना मगरले २८ घन्टा २५ मिनेट १७ सकेन्डसहित तेस्रो स्थान हासिल गरे ।
मिलन पछिल्लो संस्करणमा पनि उपविजेता बनेका थिए । एक सय माइल्स महिला दौड नेपालकी आङ फुर्बा शेर्पाले जितिन् । उनले ३३ घन्टा १३ मिनेट ०६ सकेन्ड समयसहित उपाधि जितेकी हुन् ।
न्यूजिल्यान्डकी एनी माइ बान र अनिता राई दोस्रो र तेस्रो भइन् । एनीले ३३ घन्टा ५१ मिनेट ४१ सेकेन्ड समय लगाइन् । अनिताले ३८ घन्टा १८ मिनेट २३ सकेन्ड समय लगाइन् ।
८० किमी दौडमा सूर्यराज राई (१३ः१९ः५४ सकेन्ड) पहिलो, दावा तामाङ (१३ः२०.१५ सकेन्ड) दोस्रो र हरेन्द्रकुमार चौधरी (१५ः२३.३३ सकेन्ड) तेस्रो भए । ८० किमी महिलातर्फ भारतकी दाकाही क्युनडाइट १९ घन्टा २२ मिनेट १६ सकेन्डमा दौड सकाएर पहिलो भइन् । भारतकै नाङक्युसुकी स्लोङ (२१ः५०.५१ सकेन्ड) दोस्रो र बेलायतकी अलेक्जयान्द्रा रिग्ली (२३ः२२.१९ सकेन्ड) तेस्रो स्थानमा रहिन् ।
५० किमी पुरुषमा गोपाल तामाङ (०६ः३०.१७ सकेन्ड) पहिलो, होमलाल श्रेष्ठ (०६ः३२.२१ सकेन्ड) दोस्रो र मानकुमार रोका मगर (०६ः५७.२३ सकेन्ड) तेस्रो बनिन् । ५० किमी महिलातर्फ सुनसरी रोकाया (०७ः५३.४६ सकेन्ड) पहिलो, राज्यलक्ष्मी रावल (०८ः४९.१० सकेन्ड) दोस्रो र कल्पना बुढा (०८ः५८.०९ सकेन्ड) तेस्रो स्थानमा रहिन् ।
२० किमीमा पुरुषतर्फ विशालबहादुर तामाङ पहिलो, दिपक तामाङ दोस्रो र पासाङ तामाङ तथा महिला तर्फ मेरी इगेन पहिलो, टुवा मेरी स्कार दोसो र जोहानेसवर्ग रिमर तेस्रो भए ।
यसैगरी १० किमी पुरुषतर्फ सुहन तामाङ विशाल तामाङ र सौगत आरसी तथा महिलातर्फ कर्सल लामा, अना लेना र एबी साभिन शीर्ष तीन स्थानमा रहे ।
छैटौँ मञ्जुश्री ट्रेल रेसको एक सय माइल्स दौड पातलेवनमा वैशाख ४ गते शुरू भएर काठमाडौँ उपत्यकाको परिक्रमा गरी वैशाख ६ गते पातलेवनमै पुगेर सम्पन्न भएको थियो । यसैगरी अन्य विधा, ८० किमी, ५० कि.मी., २० कि.मी. र १० कि.मि. क्रमशः नगरकोट, गोदावरी, फर्पिङ, र पातलेवनबाट शुरु गरिएको थियो भने समापन पातलेवनमा नै भएको थियो ।
सो दौडमा ३० राष्ट्रका ६०० भन्दा बढी धावकधाविकाले प्रतिस्पर्धा गरेका थिए । अगामी सातौं संस्करण २०२७ मार्च ५-७ तारिखलाई तय गरिएको छ ।