नेपालले यूएईलाई सजिलै हरायो, ८ विकेटको जित [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
768
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । काठमाडौँमा भएको टी-२० आई सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले सहज विजय हासिल गरेको छ । नेपालले यूएईमाथि ८ विकेटको सहज जित हासिल गरेको हो ।
१२९ रनको सामान्य चुनौती नेपालले १५ ओभर ५ बलमै २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । भुर्तेलले ५७ बलको सामना गर्दै ८४ रन बनाएका हुन् ।
कप्तान दिपेन्द्र सिंह ऐरीले १७ बलमा अविजित रहँदै २३रन बनाए । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १२८ रन बनायो ।
आकाशदीप नाथले ४२ बलमा अविजित रहँदै ५३ रन बनाए । मुहम्मद अर्फानले ३२ तथा अदिप उस्मानीले ३० रन जोडे ।
नेपालका लागि सन्दीप लामिछानेले ६ रन खर्चेर १ मेडन राख्दै ३ विकेट लिए । हेमन्त धामीले २ तथा नन्दन यादव र शहाब आलमले समान १ विकेट लिए ।
डे नाइट खेल पहिलो पटक फ्लडलाइटमा भएको हो । दोस्रो खेल जितसँगै नेपालले दुई खेलको श्रृंखला १-१ ले बराबरी गरेको छ । यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो ।
नेपालले पहिलो पटक एक दवसीय र टी-२० का छुट्टाछ्ट्टै कप्तान बनाएसँगै पहिलो पटक आधिकारिक रूपमा दिपेन्द्र सिंह ऐरीले कप्तानी सम्हालेका छन् ।
पहिलो खेलमा यूएई ६ विकेटले विजयी भएको हो । वर्षाले १० ओभरमा झारिएको खेलमा ७८ रनको चुनौती यूएईले ८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् ।
पहिलो पटक कीर्तिपुर मैदानको फ्लडलाइटमा खेलेका कारण होला विकेटकिपर अर्जुन साउदले सहज क्याचसमेत छुटाएका थिए । नेपालको फिल्डिङ ध्वस्त नै थियो ।
यूएईले पहिलो ओभरमै २० रन बनाएर जितको यात्रा सहज बनाएको थियो ।
वर्षाका कारण खेल रोकिएपछि यूएईले नयाँ चुनौती पाएको थियो । यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो । १८ ओभर ५ बल खेल्दा वर्षाले खेल रोकिनुपूर्व ८ विकेटको क्षतिमा १२२ रन बनाएको थियो ।
कप्तान दिपेन्द्र सिंह ऐरीले ३५ बलमा ३२ रन बनाए । अन्य ब्याटरहरू चल्न सकेनन् । मुहम्मद जुहैबले ३ विकेट लिए । खेल लामो समय रोकिँदा नेपालले थप ब्याटिङ गरेन । यूएईले नयाँ चुनौतीसहित ब्याटिङ गरेको थियो ।
पहिलो पटक त्रिवि मैदानको फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल भइरहेको हो । यसअघि नेपाल प्रिमियर लिग एनपीएल सोही फ्लडलाइटमा भएको थियो । यस सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाएको हो ।
जसमा दीपेन्द्र सिंह ऐरीकप्तान, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहे ।
त्यस्तै वैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान रहे ।
नेपालले पहिलो पटक टी–२० र एक दिवसीय क्रिकेटमा अलग अलग कप्तानको अभ्यास गरेको छ ।
पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी–२० टिमबाट बाहिर रहेका छन् ।