सीमामा नागरिकलाई हेप्ने प्रहरी सीमामा राजीव महासेठ तस्करलाई सलाम ठोक्दै, तीन प्रहरी कारबाहीको दायरामा
पुराना पार्टीहरूले देश बिगारेको भन्दै घण्टीलाई गत चुनावमा सहयोग गरेर रास्वपालाई जिताएको गौरव गाथा सुनाउँदै महासेठ
दीपेन्द्र चौहान,
प्रकाशित २०८३ वैशाख ९ बुधबार
1k
Shares
तस्बिर : तस्कर राजीव महासेठ ।
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ सई सागर राणा र तस्कर राजीव महासेठबीच भएको कुराकानीको अडियो लिक भएपछि प्रहरी प्रधान कार्यालयले मधेस प्रदेश कार्यालयबाट दुई जना सईलाई काठमाडौँ झिकाएको छ ।
प्रहरी प्रधान कार्यालयले सई गापाल थापा मगर र जयलाल यादवलाई काठमाडौँ झिकाएको हो । यस प्रकरणमा नेपाल प्रहरीको मधेस प्रदेशका प्रमुख डीआईजीको सिंहासन खतरामा परेको चर्चा व्याप्त भएपछि यस्ता क्षमतावान तस्कर कस्ता रहेछन् भन्ने खोजी बढिरहेको छ ।
जनकपुरका केही पत्रकार र संचारमाध्यमबाट प्राप्त जानकारी अनुसार नेपाल–भारत सीमा नजिक पर्ने दुहबी क्षेत्रमा राजीव महासेठ र उनको परिवारको नाम अस्वभाविक व्यापारिक गतिविधिको हुने गरेको छ।
मूल रूपमा भारतीय सीमावर्ती क्षेत्र दुहबीकै बासिन्दा रहेका महासेठको उदय बिहारमा मदिरा प्रतिबन्ध भएपछिको समयमा तीव्र रूपमा भएको स्थानीय बताउँछन् ।
त्यसअघि आमासँगै अवैध रूपमा किराना सामानको ओसारपसारमा संलग्न उनी हाल मदिरा र कपडाको ठूलो सञ्जाल चलाउने व्यक्तिका रूपमा चिनिन्छन् ।
स्थानीय स्तरमा ‘हिरा चाची’ उपनामले परिचित उनकी आमाको प्रभाव यतिसम्म छ कि उनको नाम लिँदा मात्रै पनि सुरक्षाकर्मीले मालबाहक सवारीसाधनलाई सहजै छोडिदिन्छन् । आमाले किराना सामानको अवैध आयातलाई निरन्तरता दिइरहँदा राजीवले भने मदिरा र कपडाको अवैध कारोबारलाई आफ्नो पकडमा राखेको बुझिएको छ ।
स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार महासेठको गिरोहको सञ्जाल निकै फराकिलो र व्यवस्थित छ । उनले दैनिक १०० देखि १५० वटा मोटरसाइकल प्रयोग गरेर नेपालतर्फ किराना र कपडा भित्र्याउने तथा रातिको समयमा पिकअप भ्यानमार्फत भारततर्फ मदिरा पठाउने गरेको आरोप छ ।
यसै आर्जनबाट उनले सीमाको वारिपारि दुवैतर्फ सुविधासम्पन्न घरहरू बनाएका छन्, जसलाई सामान भण्डारण गर्ने गोदामका रूपमा प्रयोग गरिन्छ ।
यसका अतिरिक्त उनले जनकपुरको देवीचोकमा एक भव्य महलसमेत निर्माण गरिसकेका छन् । लामो समयदेखि यति ठूलो परिमाणमा शङ्कास्पद गतिविधि भइरहँदा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उनलाई पक्राउ गर्नुको साटो मौन समर्थन जनाएर गोजी भर्ने गरेको र कहिलेकहीँ देखावटी रूपमा मात्रै छापा मार्ने गरेको गम्भीर आरोप स्थानीय बासिन्दाको छ।
राजीव महासेठसँग भएको कुरा मिडियामा आएपछि वरिष्ठ सई सागर राणालाई मधेस प्रदेश प्रहरी कार्यालयले केन्द्रमा निलम्बनको सिफारिस गरेको छ । राजीव महासेठको फोन काण्डले गर्दा तीन जना सई कारबाहीको भागेदार भएका छन् ।
राजीवनलाई अहिलेसम्म सोधपुछ अनुसन्धानको दायरामा ल्याउने काम भएको छैन । मुख्य नाकाहरूबाट रू सय भन्दा बढीको समान ल्याएको नागरिकलाई जनावरको जस्तो ब्यवहार गरिँदै छ भने सेटिङमा चल्ने तस्करी धन्धालाई प्रहरीले सलाम ठोक्ने गरेको छ ।
तस्कर महासेठले आफ्ना आसेपासेलाई पुराना पार्टीहरूले देश बिगारेको भन्दै घण्टीलाई गत चुनावमा सहयोग गरेर रास्वपालाई जिताएको गौरव गाथा सुनाउने गरेका छन् ।