arrow

फिलिपिन्सका पूर्व राष्ट्रपति डुतेर्तेविरुद्धको मुद्दा चल्ने

क्षेत्राधिकारविरुद्ध दिएको चुनौती आईसीसीले गर्‍यो खारेज

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
rodrigo-duterte-philippine.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का न्यायाधीशहरूले फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुतेर्तेले अदालतको क्षेत्राधिकारविरुद्ध दिएको चुनौतीलाई बुधबार खारेज गरिदिएका छन्। यस फैसलासँगै लागूऔषध विरुद्धको युद्धका नाममा भएका हत्या र मानवताविरुद्धको अपराधको आरोपमा ८१ वर्षीय डुतेर्तेविरुद्ध मुद्दा चलाउने बाटो खुलेको छ।

डुतेर्तेको प्रतिरक्षा टोलीले फिलिपिन्स अहिले 'रोम विधान' को सदस्य नरहेकाले त्यहाँ भएका कथित घटनाहरूमा आईसीसीको क्षेत्राधिकार नहुने तर्क गरेको थियो। तर, अभियोजनकर्ताहरूले फिलिपिन्स आईसीसीको सदस्य रहँदाकै समयमा ती अपराधहरू सुरु भएको र अनुसन्धान पनि सदस्य रहँदै सुरु भइसकेको प्रतिवाद गरेका थिए। पुनरावेदन अदालतकी न्यायाधीश लुज डेल कारमेन इबानेज कारान्जाले प्रतिरक्षा टोलीका चारै आधारलाई अस्वीकार गर्दै डुतेर्तेलाई बिना शर्त रिहा गर्नुपर्ने मागको कुनै कानुनी मान्यता नरहेको बताए।

डुतेर्तेमाथि सन् २०१३ देखि २०१६ सम्म डाभाओ सहरको मेयर हुँदा र सन् २०१९ सम्म राष्ट्रपति रहँदा लागूऔषध विरुद्धको उग्र अभियानका क्रममा हजारौँ मानिसको हत्या गराएको आरोप छ। यो एसियाका कुनै पनि पूर्व राष्ट्र प्रमुखविरुद्ध आईसीसीमा चल्न लागेको पहिलो मुद्दा हो।

डुतेर्ते हाल मानसिक रूपमा अस्वस्थ रहेको भन्दै उनका वकिलहरूले अदालतमा उपस्थित नहुन गरेको अनुरोधलाई अदालतले स्वीकार गरिसकेको छ। उनी एक पटक मात्र भिडियो लिंकमार्फत अदालतमा झुल्किएका थिए, जहाँ उनी निकै थकित र भ्रमित देखिएका थिए। बिहीबारको फैसला सुनाउँदा पनि उनी अदालतमा उपस्थित थिएनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ